अर्जुनचौपारीका सेवाग्राहीको नागरिकतासम्बन्धी समस्या स्याङ्जा प्रशासनले गर्यो समाधान

जीवन अर्याल /स्याङ्जा:अर्जुनचौपारी गाउँपालिकाले प्रत्येक वडाहरु समेटेर सुरु गरेको सरकारी कागजात सच्याउने एकीकृत शिविर सकिएको छ।

अर्जुनचौपारी गाउँपालिकाका हरेक वडामा पुगेर सञ्चालन गरिएको शिविरमा पालिकाबाट हुने र हुन सक्ने सेवाहरुको सहजीकरण गाउँपालिका आफैले गरेको थियो भने पालिकाले नसक्ने तथा आफ्नो क्षेत्राधिकारभित्र नपर्ने सेवा प्रवाह गर्न तथा व्यक्तिगत घटना दर्ता लगायतका सरकारी कागजातहरु सच्याउन जिल्ला प्रशासन कार्यालय स्याङ्जालाई अनुरोध गरेको थियो।

व्यक्तिगत घटना दर्ता लगायतका सरकारी कागजातहरु सच्याउनुपर्ने विभिन्न वडाका ३८ जना सेवाग्राहीलाई अर्जुनचौपारी गाउँपालिका आफैले निशुल्क सवारीसाधनको व्यवस्था गरी जिल्ला प्रशासन कार्यालय स्याङ्जा पुर्याएको थियो। जसमध्ये ३४ जना सेवाग्राहीलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जाले आजै सार्वजनिक बिदाको दिनमा समेत सेवा प्रवाह गरी समस्या समाधान गरेको र बाँकी ४ जनाका कागजातहरु क्रमिक रुपमा सच्याउने जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ। आज उपस्थित धेरै सेवाग्राहीको नागरिकता तथा यसको प्रतिलिपिको समस्या रहेको थियो।

अर्जुनचौपारी गाउँपालिकाले सुरु गरेको यस्तो कार्यक्रम आफूलाई बिलकुलै नौलो र फरक लागेको बताउँदै प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले यस्ता खालका कार्यक्रमहरु अन्य पालिकाले समेत सञ्चालन गर्न सके समस्यामा रहेका सेवाग्राहीलाई राहत हुने कुरा बताइन्। अर्जुनचौपारी गाउँपालिकाले सुरु गरेको यस कार्यक्रमको निम्ति उनले पालिकालाई धन्यवाद समेत ज्ञापन गरिन्।

अन्य विविध किसिमका समस्याहरुको समाधानका लागि समेत जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ।

Share Post on Social media