अर्जुनचौपारी गाउँपालिका अध्यक्ष तिवारी सहित ३ जनालाई गल्याङ जेसीजले गर्यो सम्मान

खबरकलम संवाददाता/स्याङ्जा: गल्याङ जेसीजले अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारी सहित तीन जनालाई सम्मान गरेको छ ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीलाई ‘गल्याङ जेसीज प्रभावशाली युवा पुरस्कार’ प्रदान गरिएको छ । गाउँपालिकाको समग्र विकास र युवा पुस्ताको लागि प्रेरणदायी काम गरेको भन्दै तिवारीलाई पुरस्कृत गरिएको गल्याङ जेसीज वर्ष २०२४ अध्यक्ष खगेन्द्र भण्डारीले जानकारी दिए।

स्याङ्जा जिल्लामा रही क्रियाशील पत्रकारिता गरिरहेका पत्रकार राधाकृष्ण डुम्रेलाई ‘गल्याङ जेसीज प्रभावशाली युवा पत्रकारिता पुरस्कार’ प्रदान गरिएको हो । दुई दशकभन्दा धेरै समयदेखि पत्रकारितामा सक्रिय रहेका डुम्रे पत्रकार महासंघ स्याङ्जाका निवर्तमान उपाध्यक्ष तथा प्रेस युनियन गण्डकी प्रदेशका लेखा समिति संयोजक हुन्।

यसैगरी उक्त कार्यक्रममा वर्तमान समयका चर्चित युवा लोकगायक बिक्रम परियारलाई लोकसंगीतका क्षेत्रमा पुर्याएको योगदानको सम्मान गर्दै पुरस्कार प्रदान गरिएको छ । तीनैजनालाई गल्याङ जेसीजको सातौं पदस्थापनको अवसरमा गल्याङ नगर प्रमुख गुरुप्रसाद भट्टराईले पुरस्कृत गरेका हुन्।

कार्यक्रममा बोल्नु हुँदै प्रमुख भट्टराईले युवाहरुलाई सामाजिक तथा आर्थिक प्रगतिमा जोड्न जेसीजको महत्वपूर्ण भूमिका रहेको बताए। गल्याङ जेसीजका मानार्थ सदस्य समेत रहेका मेयर भट्टराईले जेसीजसँग मिलेर युवा सशक्तिकरण र व्यावसायिकताका क्षेत्रमा काम गरिरहेको जानकारी दिए। उक्त कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले युवाहरुको क्षमता विकासमा जेसीजको महत्वपूर्ण भूमिका भएको बताए।

सो अवसरमा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अभिषेक दुलाल,वालिङ जेसीजका पूर्ब अध्यक्ष तथा वालिङ बहुमुखी क्याम्पसका प्रमुख भिम प्रसाद पंगेनी लगायतले आफ्नो धारणा राखेका थिए।

कार्यक्रममा बर्ष २०२४ का अध्यक्ष खगेन्द्र भण्डारीले युवाहरुको सक्रियताका कारण नै स्थापनाको छोटो अवधीमा नै गल्याङ जेसीजले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए। अध्यक्ष भण्डारीले आफूले एक वर्षमा गरेका क्रियाकलापका बारेमा समेत जानकारी गराएका थिए।

सो कार्यक्रममा वर्ष २०२५ का अध्यक्ष ज्ञानेन्द्र पाठक सहितका पदाधिकारीहरुको पदस्थापना गरिएको थियो।

Share Post on Social media