परम्परागत सीप सिकाउँदै आँधीखोला बोर्डिङ, दुना टपरी गाँस्दै विद्यार्थी

खबरकलम संवाददाता /आँधीखोला: आँधीखोला गाउँपालिका वडा नं ५ स्थित जुग्लेमा रहेको आँधीखोला इङलिस बोर्डिङ स्कुलले ३ दिने दुना टपरी तथा बाती बनाउने कार्यक्रम सम्पन्न गरेको छ।

माघ १७ देखि १९ गते सम्म भएको उक्त कार्यक्रममा आँधीखोला गाउँपालिका वडा नं ५ मा रहेको जागृति आमा समूहले विध्यार्थीहरुलाई प्रशिक्षण दिएको थियो। कक्षा ३ देखि ६ सम्मका छात्र छात्रा दुवै गरी २८ जना विद्यार्थी कार्यक्रममा सहभागी भएका थिए।

विद्यालयले आधुनिक शिक्षा सँगसँगै परम्परागत सीपहरुको सम्बर्द्धन तथा प्रयोगलाई समेत प्राथमिकता दिदै यस्ता किसिमका विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको विद्यालयकी प्रधानध्यापक स्मृति काफ्लेले बताइन्। एकातर्फ स्थानीय श्रोत साधनको समुचित सदुपयोग हुने र अर्को तर्फ वातावरण मैत्री वस्तुहरु उत्पादन र प्रयोग हुने सङै नेपाली संस्कृतिको चिनारी, संरक्षण र अबलम्बनमा उक्त किसिमका कार्यक्रमले ठूलो टेवा पुग्ने काफ्लेको भनाइ थियो।‌

जागृति आमा समुहकी अध्यक्ष तारादेवी पौडेलले आधुनिकतासँगै भित्रिएको नवीनतम प्रविधि, औजार उपकरणले यस्ता किसिमका परम्परागत सीपहरु लोप हुँदै गएको , विवाह, व्रतबन्ध लगायत विभिन्न पुजा तथा धार्मिक कार्यहरुमा प्रयोगमा आउने दुना टपरीको विशेषता अबको नयाँ पुस्तालाई बुझाउन आवश्यक छ भन्दै यस्ता कार्यक्रम आँधीखोला बोर्डिङले गरिरहेकोमा खुशी व्यक्त गर्दै धन्यवाद दिइन्।

नियमित पठनपाठनमा असर नपर्ने गरी सार्वजनिक बिदाहरुको सदुपयोग गर्दै उक्त कार्यक्रम गरेको र किताबी ज्ञानसँगै व्यबहारिक ज्ञानबाट पनि विद्यार्थीहरुले धेरै र सजिलै यस्ता सीपहरु सिक्न सक्ने विद्यालयकी शिक्षक शिला रानाभाटले बताइन्।

३ दिने दुना टपरी तथा बाती बनाउदै मौलिक परम्परागत ज्ञान र सीप हस्तान्तरण कार्यक्रममा विद्यार्थीहरुले सिक्ने क्रममा करिब ८० वटा दुना टपरी र २००० बाती बनाएका र उक्त दुना टपरी सरस्वती पुजाको दिन विद्यालयमै प्रयोग हुने भएको छ।

Share Post on Social media