नेपालकै पहिलो नवग्रह मन्दिरको पर्यटनमन्त्री पाण्डेद्वारा उद्घाटन

फागुन ६/जीवन अर्याल: स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं १ जलबराह वनमा निर्माण गरिएको नेपालकै पहिलो नवग्रह मन्दिरको पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले आज उद्घाटन गरेका छन्।

आजबाट सुरु भई फागुन १४ गतेसम्म सञ्चालन हुने नवग्रह मन्दिरको धार्मिक अनुष्ठान, गीताज्ञान महायज्ञको उद्घाटन समारोहमा बोल्दै मन्त्री पाण्डेले अर्जुनचौपारी गाउँपालिकामा बनेको नेपालकै पहिलो नवग्रह मन्दिर धार्मिक पर्यटनको राम्रो स्थल बन्ने विश्वास व्यक्त गरे।

सोही समारोहमा बोल्दै संघीय सांसद् राजु थापाले अर्जुनचौपारी गाउँपालिकामा बनेको नवग्रह मन्दिरले सामाजिक तथा धार्मिक आस्थामा नयाँ आयाम थपिएको बताए। नेपाल सरकारले समेत यस्ता धार्मिक पर्यटकीय स्थलहरुको संरक्षण र सम्बर्द्धनमा ध्यान दिनुपर्ने कुरामा जोड दिए।

गण्डकी प्रदेश सांसद् कल्पना तिवारीले गण्डकी प्रदेशले धार्मिक पर्यटनको दृष्टिकोणले संभावना बोकेका ठाउँहरूको खोजी गर्न तथा विकास गर्न प्रयास गरिरहेको बताइन्। कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरुलाई स्वागत गर्दै अर्जुनचौपारी गाउँपालिकामा बनेको नवग्रह मन्दिरमा सम्पूर्णलाई उपस्थितिको निमन्त्रणा गरिन्।

अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले नवग्रह मन्दिरको विषयमा प्रष्ट पारेका थिए। स्याङ्जा जिल्लाकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्याङ्जाका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, स्याङ्जा प्रहरी प्रमुख, राजनीतिक दलका प्रतिनिधिहरु, स्थानीय, शिक्षक, पत्रकार लगायत हजारौं सरोकारवालाहरु उक्त कार्यक्रममा उपस्थित थिए।

आजबाट सुरु भएको महायज्ञ फागुन १४ गतेसम्म सञ्चालन हुनेछ भने गीताज्ञान महायज्ञको प्रमुख वाचकको रुपमा चैतन्य कृष्ण रहनेछन्।

Share Post on Social media
 
 
  
जीवन अर्याल

जीवन अर्याल यस अनलाइन पत्रिकाको प्रधान सम्पादक हुन्।