नेपाल निजामती कर्मचारी संगठन आँधीखोलाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्ष सन्तोष सुवेदी
खबरकलम संवाददाता/फागुन ९: नेपाल निजामती कर्मचारी संगठन आँधीखोला गाउँ कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ।
आँधीखोला गाउँपालिकाको सभाहलमा आज आयोजित नेपाल निजामती कर्मचारी संगठन आँधीखोला गाउँ कमिटीको दोस्रो अधिवेशनबाट सन्तोष सुवेदी अध्यक्षमा निर्वाचित भएका छन्।
आज भएको अधिवेशनको खुला सत्रमा शुभकामना दिँदै नेकपा एमाले आँधीखोला गाउँपालिका अध्यक्ष शिवप्रसाद पौडेलले कर्मचारीको हकहितको लागि एकत्रीत हुँदै सार्वजनिक सेवाप्रवाहमा समेत सक्रिय रुपले लाग्न अब बन्ने नेतृत्वलाई शुभकामना व्यक्त गरे। नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेश अध्यक्ष डोलराज पराजुलीले ट्रेड युनियन मार्फत माग र मुद्दा सामुहिक रुपले लैजान सबै एकजुट हुनुपर्ने बताए।
नेपाल निजामती कर्मचारी संगठन स्याङ्जा अध्यक्ष विष्णुप्रसाद काफ्लेले जनप्रतिनिधिको मेरुदण्डको रुपमा कर्मचारी रहने कुरा उल्लेख गर्दै उच्च मनोबल बनाएर काम गर्न शुभेच्छा व्यक्त गरे। नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा आँधीखोला गाउँपालिका वडा नं २ वडाध्यक्ष कमलप्रसाद पौडेलले सेवाप्रवाह जनमैत्री बनाउन शुभकामना व्यक्त गरे।
आँधीखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले संविधान र ऐनले दिएको ट्रेड युनियन अधिकारको प्रयोग गरी सांगठनिक संरचनामा आबद्ध कर्मचारीलाई अग्रगामी सोचको कार्यन्वयनमा आफूको सद्भाव रहेको बताए।
नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय समिति सदस्य राजुप्रसाद मरासिनीले संगठनको आवश्यकताको बारेमा प्रष्ट्याउँदै आफ्नो शुभकामना व्यक्त गरे। आँधीखोला गाउँपालिका उपाध्यक्ष सीमा थापाले गाउँपालिकाको सम्पूर्ण जनप्रतिनिधिहरुको साथ सम्पूर्ण कर्मचारीहरूलाई रहेको बताउँदै सेवाप्रवाहमा ढुक्कका साथ लाग्न अनुरोध गरिन्।
आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले श्रेष्ठतामा श्रेष्ठता हासिल गर्नुपर्ने बताउँदै हकहितको लागि उत्कृष्ट काम गर्दै अघि बढ्न अनुरोध गरे। जनप्रतिनिधि र कर्मचारीको सम्बन्ध अब नङ र मासुको मात्र नभई अब मुटु र ढुकढुकीको बनेको बताए।
प्रमुख अतिथि गण्डकी प्रदेश सांसद् तथा सार्वजनिक लेखा समिति सभापति सुधीर पौडेलले कर्मचारी सेवाप्रवाहको निम्ति भएकाले नागरिकले पाउनुपर्ने सेवाप्रवाह के कसरी प्राप्त गर्न सक्छन् र कसरी प्रवाह गर्न सकिन्छ? भन्ने कुरामा सजक रही सेवा उपलब्ध गराउन अनुरोध गरे। निजामती कर्मचारी जहाँ जसरी रहेपनि प्रकृति एउटै रहेको बताउँदै उनले आफ्नो कार्यसम्पादन कमजोर हुन नहुने कुरामा जोड दिए।
अधिवेशनबाट १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। उपाध्यक्षमा लक्ष्मी सापकोटा, सचिव निराजन लामिछाने , कोषाध्यक्ष हरिश्चन्द्र गौतम चयन भएका छन्। सदस्यहरुमा विशेष यादव, हिरामणि ढकाल, दलबहादुर केसी, टेकनारायण रिमाल, प्रज्ञात गुरूङ, भावना पौडेल, सुनिल शर्मा चयन भएका छन्। यस्तै देवकी तिमिल्सिना तथा सविना पौडेल समेत सदस्यमा चयन भएका छन्।
साथै उक्त कार्यक्रममा आँधीखोला गाउँपालिकामा निजामती कर्मचारीको रुपमा अनवरत सेवामा खटी सेवा प्रदान गरेका दयाराज गुरुङ, बालकृष्ण पौडेल, ख्यामनारायण पौडेल सेवानिवृत्त भएपश्चात सम्मानित भएका छन्।
उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाल निजामती कर्मचारी संगठन आँधीखोला गाउँ कमिटी सदस्य विशाल जिसीले दिएका थिए भने अध्यक्षता बलराम न्यौपानेले गरेका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस्