स्याङ्जा र पर्वत जोड्ने जिल्लाकै पूरानोमध्येको नागडाँडा-सिरुबारी-घण्टे सडक कालोपत्रे हुँदै

खबरकलम संवाददाता/चैत २०: स्याङ्जा जिल्लाको पूरानो सडकमध्येको एक नागडाँडा-सिरुबारी-घण्टे सडक कालोपत्रे हुने भएको छ।

स्याङ्जा जिल्लाको मात्र नभई दक्षिण एशियाकै पहिलो ग्रामीण पर्यटकीय स्थल सिरुबारी जोड्ने पूरानो सडक अब कालोपत्रे हुने अन्तिम तयारीमा पुगेको हो। स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका स्थित नागडाँडाबाट सुरु भई पञ्चमूल, सिरुबारी, आरुचौर हुँदै घण्टे पुग्ने यस सडकको कालोपत्रे दुई करोड १० लाख रुपैयाँ बजेटमा हुन लागेको जानकारी आँधीखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले दिए।

उनका अनुसार यस सडकको प्रदेश सरकार र संघीय सरकारको लगानीमा १७ किमि कालोपत्रे गरिन लागेको हो। जसमध्ये सडकको बीचमा रहेको पर्यावरणीय रुपले संवेदनशील खण्डको ६०० मिटर ट्रयाकको पनि ठेक्का खोल्ने तयारी भैरहेको छ।

यस बाटोको कालोपत्रेसँगै धारु, भक्किम्ले आरुचौर घण्टे हुँदै पर्वतसम्म जोडिने सबैभन्दा छोटो सडकको रुपमा रहने र २० वर्षसम्म छायाँमा परेको सडकले मुहार फेर्ने अध्यक्ष पौडेलले जानकारी दिए।

यस सडकमा दैनिक २० वटा बस र जिपले सेवा दिइरहेका छन् भने पर्यटकीय स्थल सिरुबारी पुग्ने थुप्रै पर्यटकका सवारी समेत यही बाटो हुँदै आवातजावत गर्दछन्।

यस सडकको कालोपत्रेसँगै ४०० घरधुरीले प्रत्यक्ष रुपमा सेवा लिने र ग्रामीण उत्पादनले समेत बजार पाउने छन्।

Share Post on Social media