अर्जुनचौपारी गाउँपालिकाद्वारा पालिकाभर बृहत शैक्षिक उत्प्रेरणा कार्यक्रम सम्पन्न
जेठ १३/स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाले आफ्नो पालिकाभर शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुलाई लक्षित गरी बृहत शैक्षिक उत्प्रेरणा कार्यक्रम सम्पन्न गरेको छ।
अर्जुनचौपारी गाउँपालिकाको आयोजना र बृहत शैक्षिक सुधार कार्यदल अर्जुनचौपारी तथा युथ फर अर्जुनचौपारीको समन्वयमा सञ्चालन गरिएको उक्त उत्प्रेरणात्मक कार्यक्रममा रवि किरण श्रेष्ठले सहजीकरण गरेका थिए।
मिति २०८२ जेठ ५ गतेदेखि १३ गतेसम्म चलेको बृहत शैक्षिक उत्प्रेरणात्मक कार्यक्रममा पालिकाभरका विद्यालय, शिक्षक र अभिभावकको उपस्थिति रहेको थियो। वडा नं १ देखि वडा नं ६ सम्म फरक दिन र स्थानमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
वडा नं १ स्थित पञ्चकन्या माविमा जेठ ५ गते आयोजना गरिएको कार्यक्रममा ३५० जना विद्यार्थी, २६५ जना अभिभावक तथा वडा नं १ का सम्पूर्ण विद्यालयका शिक्षकको उपस्थिति रहेको थियो। यसैगरी जेठ ६ गते घण्टे माविमा २०० जना विद्यार्थी र १५० जना अभिभावक उपस्थित भएका थिए। वडा नं ५ कै सर्वोदय माविमा जेठ ७ गते आयोजना गरिएको कार्यक्रममा २२० जना विद्यार्थी र २०० जना अभिभावकलाई उत्प्रेरणा प्रदान गरिएको थियो।
जेठ ८ गते वडा नं ४ स्थित जन मावि रापाकोटमा आयोजित कार्यक्रममा २३० जना विद्यार्थी र २०० जना अभिभावक, जेठ ९ गते वडा नं २ स्थित अमरज्योति मावि लामडाँडामा १७० जना विद्यार्थी र १२० जना अभिभावक , जेठ ११ गते वडा नं ३ को कार्यालयमा ७५ जना विद्यार्थी र १२० जना अभिभावक गथा स्थानीय उपस्थित थिए।
जेठ १२ गते वडा नं ६ स्थित दरौं माविमा आयोजित उत्प्रेरणा कार्यक्रममा १६० जना विद्यार्थी र २८० जना अभिभावक तथा स्थानीय उपस्थित थिए भने आज अर्जुनचौपारी गाउँपालिकाको सभाहलमा आयोजित अन्तिम दिनको कार्यक्रममा अर्जुनचौपारी गाउँपालिकाका सम्पूर्ण विद्यालयका ३१२ जना शिक्षकहरु उपस्थित थिए।
आफ्नो पालिकाभर शिक्षकको मनोबल उच्च राख्न, विद्यार्थीलाई अध्ययनप्रति सकरात्मक बनाउन र अभिभावकलाई समेत जिम्मेवार बनाउन पालिकाले यो कार्यको प्रारम्भ गरेको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए।
प्रशिक्षकको रुपमा रवि किरण श्रेष्ठले अर्जुनचौपारी गाउँपालिकाको यो कार्यक्रम निकै सकरात्मक र फलदायी रहेको बताए। उनले यसअघि पनि अर्जुनचौपारी गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा उत्प्रेरणा प्रदान गर्दै आएका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्