भीरकोट नगरपालिकाद्वारा आयोजित ५ दिने ICT तालिम सम्पन्न, २५ जना शिक्षक लाभान्वित
असार २३/खबरकलम संवाददाता: भीरकोट नगरपालिकाले आफ्नो पालिकाका माध्यमिक तथा आधारभूत विद्यालयमा कार्यरत सूचना अधिकारी तथा ICT स्रोत शिक्षकलाई लक्षित गरी सञ्चालन गरेको ५ दिने ICT तालिम आज सम्पन्न भएको छ।
भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले आज समापन कार्यक्रममा बोल्दै शिक्षकलाई प्रदान गरिएको यस तालिमले प्रविधिमैत्री शिक्षण मार्फत भीरकोटको शैक्षिक अवस्था सुधार गर्न कोसेढुङ्गा सावित हुने बताए। भर्खरै मात्र प्रकाशित भएको एसईई परीक्षाको नतिजामा जिल्लामा भीरकोट नगरपालिकाले दोस्रो स्थान हासिल गर्न सफल भएको बताउँदै उनले सम्पूर्ण शिक्षकलाई आभार प्रकट गरे।
रोष्टर प्रशिक्षक श्रीकृष्ण आचार्य, प्रशिक्षकहरु सुरेश पंगेनी, वसन्त बस्नेत, विष्णुबहादुर भट्टराईले आर्टिफिसियल इन्ट्लिजेन्स (एआई) को प्रयोग, माइक्रोसफ्ट अफिस प्याकेज अन्तर्गत वर्ड, एक्सल, पावरपोइन्ट, आईईएमआईएस लगायतका एप्लिकेसन सफ्टवेयरको बारेमा जानकारी प्रदान गरेका थिए।
सहभागी शिक्षकका तर्फबाट भोजबहादुर थापाले पावर पोइन्ट मार्फत प्रविधिमैत्री शिक्षणको महत्वबारे प्रकाश पारेका थिए भने प्रकाश न्यौपानेले एक्सल मार्फत नतिजा बनाउने र विद्यार्थीको निरन्तर मूल्याङ्कन गर्ने विसषयमा सहजीकरण गरेका थिए। जीवन अर्यालले साइबर सेक्युरिटी तथा उत्प्रेरणाको विषयमा सहजीकरण गरेको उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख उपसचिव विष्णुप्रसाद कोइरालाले शिक्षालाई प्रविधिमा जोड्नको लागि निरन्तर रुपमा तालिम आयोजना गर्ने र शिक्षकको सहभागिता बढाउने कुरामा प्रतिबद्धता जनाएका थिए।
समापन कार्यक्रममा शिक्षकको तर्फबाट मनिषा कोइराला र जीवन अर्यालले तालिमको समग्र अवस्थाबारे प्रकाश पारेका थिए भने बिनोद सारुले तालिम अवधिभर शिक्षकलाई बासुरी बजाएर मनोरञ्जन प्रदान गरेका थिए भने शिक्षक दिलिप तिवारीले गजल सुनाएर साहित्यिक प्रस्तुति दिएका थिए। हरेक दिन कार्यक्रम संयोजक, प्रतिवेदन प्रस्तुतकर्ता तथा मनोरञ्जनकर्ताको जिम्मेवारी फरक फरक शिक्षकलाई प्रदान गरी तालिमलाई थप समावेशी समेत बनाइएको थियो।
आजको कार्यक्रमको सञ्चालन शिक्षा शाखा भीरकोटका प्रास विष्णु भट्टराईले गरेका थिए।
