सिरुबारीसँगै अर्को आकर्षक ग्रामीण गन्तव्य, “देउराली सामुदायिक होमस्टे”
साउन ४/स्याङ्जा :नेपालकै मात्र नभई दक्षिण एसियाकै पहिलो ग्रामीण पर्यटन केन्द्र रहेको सिरुबारी सामुदायिक होमस्टेसँगै जोडिएको अर्को ग्रामीण पर्यटनको संभावना बोकेको स्थान हो, “देउराली सामुदायिक होमस्टे।”
स्याङ्जा जिल्लाको आँधीखोला गाउँपालिका वडा नं १ सिरुबारीसँगै जोडिएर रहेको देउराली सामुदायिक होमस्टे समुद्री सतहबाट १८५० मिटर उचाइमा रहेको छ। पोखराबाट मात्र ४९ किमी टाढा रहेको र स्याङ्जा सदरमुकामबाट करिब १ घण्टामै पुग्न सकिने यस सामुदायिक होमस्टे मुख्यतः ब्राम्हण समुदायद्वारा सञ्चालित छ।
विसं २०७२ सालदेखि सञ्चालित यस होमस्टेमा ग्रामीण स्तरमा उत्पादन गरिएका शुद्ध खाना, वर्षे तथा हिउँदे उत्पादन गरिएको आलुको परिकारहरु, हरियो सागपात, स्थानीय जातकै काँक्राका परिकार सहित कोदो र मकैको पीठोबाट बनाइएको खाना पाइने देउराली सामुदायिक होमस्टेका अध्यक्ष चुडामणि पौडेलले जानकारी दिए। उनका अनुसार हाल ११ वटा घरमा सञ्चालन गरिएको होमस्टेमा २२ कोठा र ४४ वटा बेडहरु रहेका छन्। एकपटकमा ४४ जनाको क्षमता रहेको उक्त सामुदायिक होमस्टे पुग्न पुतलीबजारबाट सतौं दरौं हुँदै पनि पुग्न सकिन्छ भने हेलु अर्जुनचौपारी हुँदै पनि छोटो दुरीमै पुग्न सकिन्छ।
यस सामुदायिक होमस्टेबाट माछापुच्छ्रे धौलागिरी अन्नपूर्ण लगायतका हिमालको दृश्यावलोकन गर्न सकिने तथा अर्जुनचौपारी गाउँपालिकाको मात्र नभई गण्डकी प्रदेशकै प्रसिद्ध तीर्थस्थल डहरे देउराली समेत नजिकैबाट दर्शन गर्न तथा पुग्न सकिन्छ।
