स्याङ्जाको पत्रकारिताको विगत, वर्तमान र भविष्यको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता /स्याङ्जा: स्याङ्जा जिल्लालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका क्रियाशील पत्रकारहरुबीच ” स्याङ्जाको पत्रकारिता विगत, वर्तमान र भविष्यको संभावना तथा चुनौति” विषयमा आज एक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।

खबरकलम डटकम, स्मार्ट अखबार डटकम र अकला आवाज राष्ट्रिय साप्ताहिकको संयुक्त आयोजनामा आज भीरकोट नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा लामो समयदेखि पत्रकारिता गर्दै आएका अग्रज पत्रकारदेखि भर्खरै पत्रकारितामा प्रवेश गरेका नवपुस्ताहरुको समेत उपस्थिति रहेको थियो। देशमा राजनीतिक परिवर्तनको लामो इतिहासको साक्षी बन्दै कलम चलाएका अग्रज पत्रकार ओमप्रकाश शर्मा, मुक्ति न्यौपाने, हिमलाल पराजुली, गोपाल जिटी,प्रकाश डोटेल, श्रीकृष्ण सिग्देल, भवानी अधिकारीदेखि प्रदिप कोइराला, अमृत अर्याल, राधाकृष्ण डुम्रे, अर्जुन काफ्ले, तोलाकान्त बगाले, टिकाराम अधिकारी, केपी खनालले आफूले पत्रकारितामा देखे-भोगेका अनुभवहरु साटेका थिए।

यस्तै पत्रकारहरु ध्रुव गौंडेल, नारायण विश्वकर्मा, युवराज पौडेल, आरती कुँवर, रामबहादुर रोका, सागर न्यौपाने लगायतले पत्रकारितामा प्रविधिको प्रयोगबारे चासो राखेका थिए। युवा पुस्तालाई पत्रकारितामा आकर्षित गर्न खेल्नुपर्ने भूमिकाबारे पत्रकार महासंघ स्याङ्जालाई थप क्रियाशील बनाउनुपर्ने कुरामा नयाँ पुस्ताका पत्रकार आयुष्मा काफ्ले, बिना रेग्मी, पवन मरासिनीले जोड दिएका थिए।

सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण पत्रकारले भोग्नुपरेका कठिनाईहरु चर्चा गर्दै पत्रकारले लेख्ने र देख्ने कुराहरुले कसरी समाज परिवर्तनमा सकरात्मक सन्देश प्रवाह गर्न सक्छन् भन्ने विषयमा अकला आवाज राष्ट्रिय साप्ताहिकका सम्पादक प्रकाश डुम्रेले प्रष्ट्याएका थिए।

कार्यक्रममा भीरकोट नगरपालिकाका नगरप्रमुख गोविन्द कर्माचार्यले भीरकोट नगरपालिकाले गरेका असल अभ्यासहरुबारे चर्चा गरेका थिए। कार्यक्रममा तीन दर्जन बढी पत्रकारहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन खबरकलम डटकमका प्रधान सम्पादक जीवन अर्यालले गरेका थिए भने सभापतित्व स्मार्ट अखबार डटकमका सञ्चालक नारायण प्रसाद कोइरालाले गरेका थिए।

९ बुँदे भीरकोट घोषणापत्र जारी।

साथै आजको अन्तरक्रिया कार्यक्रमबाट ९ बुँदे भीरकोट घोषणापत्र जारी गरिएको छ। जसमा
भीरकोट घोषणापत्र २०८२

१) स्याङ्जा जिल्लाभर विभिन्न संचारमाध्यमहरूमा क्रियाशील पत्रकारहरूबिच मैत्रीपूर्ण सहकार्य एवं सम्बन्ध स्थापित गर्न जोड दिने ।
२) स्याङ्जाको पत्रकारिताको ऐतिहासिक दस्तावेज तयार पार्न सबै क्रियाशील पत्रकार एकजुट भएर काम अगाडि बढाउने ।
३) पेशागत मर्यादालाई उच्च प्राथमिकतामा राख्दै पत्रकारको पेशागत सुरक्षा र आत्मसम्मानप्रति दृढ रहने वातावरण गराउने ।
४) स्याङ्जाका आम नागरिकको जनबोलीको प्रतिनिधित्व गर्दै सकारात्मक, नैतिक, सभ्य र मर्यादित समाज निर्माणमा मिडिया मार्फत सकारात्मक र सिर्जनात्मक भूमिका खेल्ने ।
५) सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि सरोकारवाला निकायको तत्काल ध्यानाकर्षण गराउने ।
६) स्याङ्जाको आन्तरिक एवं बाह्य पर्यटन प्रबर्द्धनको लागि संचार माध्यमबाट पहल गर्दै सरोकारवाला निकायबिच हातेमालो गर्ने !
७) जिल्ला स्थित सरकारी निकायहरूले प्रकाशन गर्नुपर्ने टेण्डर, सूचना , लोककल्याणकारी विज्ञापन एवं विभिन्न सूचनाहरू स्याङ्जामा संचालित संचारगृहहरूमा उच्च प्राथमिकताका साथ प्रकाशित गर्न गराउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउने ।
८) स्याङ्जा जन्मथलो भई स्वदेश तथा विदेशमा रही पत्रकारितामा सक्रिय सबै कलमजिवीहरुलाई भावनात्मक ढंगले एकजुट गराउने ।
९) स्याङ्जाको पत्रकारितामा पत्रकार महासंघलाई अगुवा संस्थाको रूपमा लिदै यसलाई गतिशील र शसक्त बनाउन सबै कृयाशील पत्रकारहरु एकजुट हुने।

जस्ता घोषणाहरु रहेका छन्।

Share Post on Social media