पूर्व विद्यार्थी समाज, कालिका माविको शुभकामना आदानप्रदान तथा दोस्रो साधारण सभा सम्पन्न

स्याङ्जा: कालिका माध्यमिक विद्यालय, झापाकोट स्याङ्जामा अध्ययन गरी देश तथा विदेशका विभिन्न क्षेत्रमा छरिएर रहनुभएका पूर्व विद्यार्थीहरूबिच एउटा सामूहिक मञ्चको आवश्यकता महसुस गरी सङ्गठित हुने प्रयासस्वरूप स्थापना भएको पूर्व विद्यार्थी समाज, कालिका मा.वि. (Alumni Society of Shree Kalika Secondary School) को दोस्रो साधारण सभा, शुभकामना आदानप्रदान,विद्यार्थी सम्मान तथा बृहत् पुनर्मिलन कार्यक्रम सोमबार विद्यालयको सभाहलमा सम्पन्न भएको छ।

कार्यक्रममा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत विकास र प्रतिभाशाली विद्यार्थीलाई प्रोत्साहन गर्ने विषयलाई विशेष प्राथमिकता दिइएको थियो।

समाजका अध्यक्ष बोधराज गौतमको अध्यक्षता तथा प्राध्यापक डा. कृष्ण कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कोइरालाले विद्यालयको प्रगति, शैक्षिक उपलब्धि र विद्यार्थीको प्रतिभा विकासका लागि पूर्व विद्यार्थी समाजले निर्वाह गर्न सक्ने भूमिकाबारे शुभकामना मन्तव्य व्यक्त गरे। उनले विद्यालयको उन्नति र शैक्षिक उत्कृष्टताका लागि पूर्व विद्यार्थी, विद्यालय परिवार र समुदायबीच सहकार्य आवश्यक रहेको औँल्याउँदै उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्नु भविष्यको शैक्षिक उपलब्धिमा लगानी गर्नु सरह भएको धारणा राखे।

प्रमुख अतिथि कोइरालाले विद्यालयका उत्कृष्ट दुई विद्यार्थीलाई पूर्व विद्यार्थी समाजमार्फत हरेक वर्ष प्रोत्साहन पुरस्कार प्रदान गर्ने घोषणा गरे। उनको यस घोषणाले उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने विद्यार्थीलाई थप प्रेरणा मिल्नुका साथै विद्यालयमा मेहनत, लगनशीलता र प्रतिस्पर्धात्मक शैक्षिक वातावरण विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा भीरकोट नगरपालिका–७ का वडाध्यक्ष ताराप्रसाद अर्याल, विद्यालयका प्रधानाध्यापक लोकनाथ घिमिरे, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अर्याल, पूर्व प्रधानाध्यापक शिवप्रसाद रेग्मीलगायत उपस्थित महानुभावहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको शैक्षिक गुणस्तर वृद्धि, संस्थागत विकास र शैक्षिक उपलब्धि सुधारमा जोड दिए। उनीहरूले विद्यालयको प्रगतिका लागि पूर्व विद्यार्थीको अनुभव, ज्ञान, सीप र सहयोगलाई संस्थागत रूपमा परिचालन गर्नुपर्ने धारणा राखेका थिए।

समाजका अध्यक्ष बोधराज गौतमले विद्यालयको सर्वाङ्गीण विकासका लागि पूर्व विद्यार्थी समाज प्रतिबद्ध रहेको उल्लेख गर्दै विद्यालय परिवारले पनि यस अभियानलाई आफ्नै जिम्मेवारी र अपनत्वका रूपमा ग्रहण गर्नुपर्ने बताए। विद्यालय र पूर्व विद्यार्थीबीच प्रभावकारी समन्वय, सहकार्य तथा साझा प्रतिबद्धता कायम हुन सके शैक्षिक र भौतिक विकासका लक्ष्य हासिल गर्न सहज हुने उनको भनाइ थियो।

सो अवसरमा एसईई परीक्षा २०८२ मा उत्कृष्ट जीपीए प्राप्त गर्ने सृष्टिना अर्याल र कक्षा १२ को बोर्ड परीक्षा २०८३ मा उत्कृष्ट जीपीए प्राप्त गर्ने स्नेहा अर्याललाई सम्मान गरिएको थियो। विद्यार्थीको उपलब्धिको सम्मान र आगामी पुस्तालाई उत्कृष्टताका लागि प्रेरित गर्ने उद्देश्यले आयोजित सम्मान कार्यक्रमले शैक्षिक सफलतालाई प्रोत्साहन गर्ने समाजको प्रतिबद्धतालाई समेत उजागर गरेको थियो।

समाजका उपाध्यक्ष युक्तनारायण अर्यालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव डिल्लीराम अर्यालले गरेका थिए।

पूर्व विद्यार्थीबीचको आत्मीय सम्बन्धलाई पुनर्जीवित गर्दै विद्यालयको वर्तमान सुधार र भविष्यको उन्नयनमा सामूहिक योगदान गर्ने उद्देश्यले आयोजित सभाले विद्यालय, पूर्व विद्यार्थी र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। उत्कृष्ट विद्यार्थीलाई हरेक वर्ष प्रोत्साहन पुरस्कार दिने घोषणाले विद्यालयको शैक्षिक प्रगतिलाई निरन्तरता दिन सकारात्मक सन्देश दिएको छ।

Share Post on Social media