“राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा गल्याङमा विद्यार्थी, शिक्षक तथा विद्यालय सम्मानित
खबरकलम संवाददाता /गल्याङ: राष्ट्रिय शिक्षा दिवस २०८३ को अवसरमा गल्याङ नगरपालिकामा विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न शैक्षिक तथा खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक र विद्यालयलाई सम्मान गरिएको हो।
कार्यक्रममा विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने ७६ जना विद्यार्थी, कक्षा १२ मा उत्कृष्ट ५ जना तथा खेलकुदतर्फ उत्कृष्ट २ जना विद्यार्थीलाई सम्मान गरिएको थियो। त्यसैगरी दीर्घ सेवा सम्मान प्राप्त गर्ने १० जना तथा बढुवा भएका २० जना शिक्षकलाई समेत सम्मान गरिएको थियो।
कक्षा ५ तर्फ उत्कृष्ट २० जना विद्यार्थीलाई सम्मान गरिएको कार्यक्रममा शैक्षिक उपलब्धिका आधारमा शिक्षक तथा प्रधानाध्यापकहरूलाई पनि सम्मान गरिएको थियो।
SEE परीक्षामा शतप्रतिशत नतिजा हासिल गर्ने शैक्षिक वर्ष २०८१ र २०८२ का १३२ जना विषयगत शिक्षक तथा सर्वोत्कृष्ट नतिजा ल्याउने २६ जना विषयगत शिक्षकलाई सम्मान गरिएको थियो। साथै ४ जना प्रधानाध्यापक, ६ जना शिक्षक, ४ जना बालविकास शिक्षक तथा उत्कृष्ट विद्यालयलाई समेत सम्मान गरिएको थियो।
कार्यक्रमले शैक्षिक क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विद्यार्थी, शिक्षक तथा विद्यालयलाई प्रोत्साहन गर्नुका साथै शिक्षाको गुणस्तर अभिवृद्धि र उत्कृष्ट नतिजाका लागि थप प्रेरणा प्रदान गरेको छ।
