लागूऔषध नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम भाग्योदय माविमा सम्पन्न 

असोज २१/स्याङ्जा: लागू औषध दुरुपयोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम भाग्योदय माविमा सम्पन्न भएको छ। 

लागू औषधको दुरुपयोगबाट हुने व्यक्तिगत, पारिवारिक तथा सामाजिक असरका बारेमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजनामा भाग्योदय माध्यमिक विद्यालय उजेलीडाँडामा लागू औषध दुरुपयोग नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा लागू औषधको प्रयोगबाट हुने स्वास्थ्य तथा सामाजिक क्षति, यसको रोकथामका उपाय र युवापुस्तालाई कुलतबाट जोगाउन विद्यालय, परिवार तथा समुदायको भूमिकाका विषयमा महत्वपूर्ण जानकारी प्रदान गरिएको थियो।

जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका प्रशासकीय अधिकृत राजेन्द्र चापागाईं अध्यक्ष, प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष विश्वनाथ अर्याल, विशिष्ट अतिथि भीरकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष रामकाजी खत्री, भीरकोट नगरपालिकाका स्वास्थ्य अधिकृत तथा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी सहायक निरीक्षक आशिष श्रेष्ठ ,पूर्व विद्यार्थी मञ्च भाग्योदय मावि अध्यक्ष ढाकाराम खनाल, शिक्षक अभिभावक संघ भाग्योदय मावि अध्यक्ष गौतम गुरुङ रहेका थिए। 

 भाग्योदय माविका प्रधानाध्यापक रेसम खनालले स्वागत गरेसँगै सुरु भएको कार्यक्रममा शिक्षक, अभिभावक तथा विद्यार्थीसहित २१५ जनाको सहभागिता रहेको थियोे।

Share Post on Social media