अस्पतालमा बाबुको मृत्यु,आइसोलेसनमा छोरा काजक्रिया समेत गर्नबाट वञ्चित
खबरकलम/भदौ २८: कोरोना भाइरस (कोभिड १९) का कारण बाबुको मृत्यु भएपछि छोराले काजक्रिया गर्न बाट समेत गर्न वञ्चित भएका छन्।
स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा नं १४ स्थायी घर भई पुतलीबजार—१ मा बस्दै आएका ८५ वर्षीय एक वृद्धको पोखरामा उपचारका क्रममा शनिबार मृत्यु भएपछि मृत्कका ४८ वर्षीय छोरा बाबुको काजक्रिया गर्नबाट समेत वञ्चित भएका हुन्।
लामो समयदेखि दमको बिरामी रहेका बाबुलाई उपचारका लागि यही भदौ २१ गते पोखरा लिएर गएका छोराले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि आइसोलेसनमा राखेर रेखदेखमा खटिनुभएको थियो ।
बाबुको उपचारकै समयमा भदौ २२ गते छोराको पनि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि बाहिरी रेखदेखका लागि आफन्तका भरमा अस्पतालमै छाडेर चिकित्सकको सल्लाहमा जिल्ला फर्किएर स्थानीय कालिका सामुदायिक अस्पताल हेलुको आइसोलेसनमा रहेका छोरा बाबुको मृत्यु भएपछि थप पीडामा परेका छन् भने उनी काजक्रिया गर्नबाट समेत वञ्चित हुनुपरेको छ।
मृृतकको सम्पर्कमा आएकाहरुको कन्ट्याक ट्रेसिङको काम सुरु गरिएको र परिवारका सदस्यको स्वाब सङ्कलनको तयारी गरिएको पुतलीबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
मृतकका दुई छोरामध्ये एक जनामा कोरोना सङ्क्रमण पोजेटिभ देखिएकाले आइसोेलेसनमा रहेको तथा अर्का छोरा रोजगारीका लागि भारत गएको र उहीँ क्वारेन्टिनमा रहेकाले आफन्तले बाबुको क्रिया गर्नुपर्ने अवस्था रहेको नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले बताइन्।
रासस
आफ्नो प्रतिक्रिया दिनुहोस्