बलात्कारको मुद्दा मिलाउन दबाब दिँदा किशोरीले गरिन् देहत्याग

भदौ ३१,सप्तरी: बलात्कारको मुद्दा गाउँमै मिलाउन दबाब दिँदा सप्तरीमा एक किशोरीले देहत्याग गरेकी छन्।

बलात्कारीहरूविरुद्ध प्रहरीकहाँ उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै चेतावनी दिएपछि डाकनेश्वरी नगरपालिका– ७ ललितपुरकी १७ वर्षीया किशोरीले मङ्गलबार देहत्याग गरेको सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिएका छन्।

प्रहरीले जनाएअनुसार सोमबार बिहान ९ बजे धानखेतमा पानीको अवस्था हेर्न गएकी किशोरीमाथि सामूहिक बलात्कार भएको थियो। किशोरीकी आमाले जनाए अनुसार आरोपित चार जनाविरुद्ध प्रहरी कार्यालय जान खोज्दा केही गाउँलेले भेला बसी उनीहरुलाई रोकेपछि छोरी निकै तनावमा परेकी थिइन्। घटनास्थलमा पीडितले जोगिनका लागि धानबाली र आली समातेर गरेको सङ्घर्षका चिह्नहरु, मडारिएको धानका बाला, फुटेका हातका चुराहरु र अन्य प्रमाणहरु पाइएको प्रहरीले जनाएको छ।

पीडितलाई प्रहरी कार्यालय जान रोक लगाउने र क्षतिपूर्ति भराउने निर्णय सुनाउने पञ्चहरू जयकान्त मण्डल, वासुदेव मण्डल र सत्यनारायण मण्डललाई पक्राउ गरेको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको छ।

Share Post on Social media