भीरकोटका युवाले गरे दीप प्रज्वलन

स्याङ्जा/असोज ३: स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाका युवाहरुको सामुहिक संजाल “भीरकोट युवा आवाज”का अभियन्ताहरुले संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेका छन्।

भीरकोट नगरपालिका वडा नं ५ सुन्दरबजार( बगरेबजार)मा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको जानकारी प्रमोद खनालले खबरकलमलाई दिएका हुन्।

नेपाल सरकारले अनुरोध गरेबमोजिम आज देशभर दीप प्रज्वलन तथा हर्षबढाइँका साथ छैठौं संविधान दिवस मनाइएको छ। नेपाल सरकारले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख लगायतका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा टुँडिखेलमा कार्यक्रम सम्पन्न गरेको थियो।

लकडाउन र कोरोना महामारीको अवस्थामा भीरकोटका युवारु मिलेर सामाजिक विकासमा युवाहरुको सुनिश्चितता गर्ने उदेश्यले “भीरकोट युवा आवाज”को गठन गरेका थिए। कृष्ण अर्याल, जगदिश अर्याल, प्रमोद खनाल, पवन खनाल, राजेश सुनार, दिपेश बिके, रश्मी अर्याल, अनुश्का अर्याल, रवि थापा लगायतका युवाहरुले यही साउन १८ गते एक भेला गरी साउन २२ गते कृष्ण अर्यालको संयोजकत्वमा एक समिति गठन गरेका थिए।

भीरकोट युवा आवाजले स्थानीय निकायमा हुने अनियमितता, ढिलासुस्ती र लापरवाहीमा खरो रुपमा उत्रने तथा सामाजिक कार्यमा समेत युवाहरुको सुनिश्चितता गर्ने उदेश्य रहेको युवा आवाजका सदस्यहरु बताउँछन्।

भीरकोट युवा आवाजले रासायनिक मलको वितरणमा सहजिकरण, बाटो तथा मन्दिरको सरसफाई, सामाजिक सचेतना कार्यक्रम जस्ता कार्यक्रम सम्पन्न गरिसकेको छ।

केही दिनमै भीरकोट युवा आवाजको बृहत भेला समेत गर्ने तयारी भैरहेको छ।‌ विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने दिग्गज व्यक्तित्वहरु यस “भीरकोट युवा आवाज”का संस्थापक सदस्य रहेका छन्।

Share Post on Social media