स्याङ्जा प्रहरीले फरार अभियुक्त धमाधम पक्राउ गर्दै एकैदिन ४८ पक्राउ

असोज ५/खबरकलम संवाददाता: जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न अपराधमा अदालतबाट दोषी करार भएका र कैद सजाय भुक्तान नगरी फरार बनेका अभियुक्तलाई धमाधम पक्राउ गर्ने अभियान सुरु गरेको छ।

स्याङ्जामा नयाँ प्रहरी प्रमुखको रुपमा एसपी होविन्द्र बोगटी आएपछि फरार अभियुक्तको खोजी कार्यले तिव्रता पाएको हो। २०७७‌ साल असोज ४ गते जिल्ला प्रहरी कार्यालय स्याङ्जा र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सम्मानित अदालतहरुको फैसलाले कर्तव्यज्यान, हाडनाता करणी,लागुऔषध, सवारी ज्यान, चेक अनादर, अंशवण्डा ,सम्बन्ध विच्छेद, कुटपिट लुटपिट लगायतका बिभिन्न मुद्धका फरार रहेका ४८ जना प्रतिवादीहरूलाई पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराईएको जानकारी जिप्रका स्याङ्जाले दिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाद्धारा संचालित फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत विगत १ महिनामा बिभिन्न मुद्धाका ८३ जना फरार प्रतिवादीहरू पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा उपस्थित गराउनुका साथै उल्लेखित मध्येका हाडनाता करणी मुद्धामा २ बर्ष कैद तोकिई बिगत २३ बर्ष देखी फरार रहेका जि. स्याङ्जा हरिनाश गा.पा. ५ बस्ने बर्ष ६४ को कर्ण बहादुर मह भन्ने कर्ण बहादुर भट्टक्षेत्री, सवारी ज्यान मुद्धामा २ बर्ष कैद तोकिई बिगत १५ बर्ष देखी फरार रहेका जि. स्याङ्जा चापाकोट न.पा. ४ बस्ने बर्ष ४५ को भक्त सुनारी मगर र डाँका चोरी मुद्धामा ६ बर्ष कैद तोकिई बिगत १० बर्ष देखी फरार रहेका जि. स्याङ्जा हरीनास गा.पा. १ बस्ने बर्ष ६२ को लाल बहादुर नाम्जालीलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सम्मानित स्याङ्जा जिल्ला अदालतमा पेश गरिएकोमा तिनै जना कैद भुक्तानको लागि कारागार कार्यालय स्याङ्जामा थुनामा रहेको प्रहरी प्रबक्ता एवं सूचना अधिकारी DSP राजेन्द्र प्रसाद अधिकारीले बताएका छ्न् ।

Share Post on Social media