एसिड आक्रमण रोक्नेसम्बन्धी अध्यादेश अन्तिम चरणमा
खबरकलम संवाददाता/असोज ८: सरकारले एसिड आक्रमण रोक्न अध्यादेश मार्फत कानून ल्याउन अन्तिम तयारी गरिरहेको छ। भदौ २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा परी घाइते भएकाहरुसँगको भेटमा गरेको प्रतिबद्धता कानूनको रुपमा आउन लागेको हो।
नयाँ कानूनको मस्यौदामा एसिड आक्रमणको कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोकिएको छ । आक्रमणबाट मुख्य अंगहरु आँखा, कान, मुख, छाती र यौनाङ्गमा क्षति भएमा २० वर्ष तथा अन्य अंगमा घाउचोट लागे १५ वर्षको कैद सजाय तोकिएको छ ।
एसिड आक्रमणमा शरीरको कुनै पनि भाग एसिडले छोएमा न्यूनतम दश वर्षको सजाय तोकिएको छ भने एसिड आक्रमण गर्नेलाई धरौटीमा रिहा या आममाफी लागू नहुने समेत अध्यादेशमा उल्लेख छ।
अध्यादेशको मस्यौदामा एसिड सिल गरिएको बोतलमा मात्र बेच्न पाइने र खुला रुपमा बिक्री वितरण पूर्ण बन्देज गर्ने उल्लेख छ। साथै, एसिड आक्रमणमा परी घाइते हुनेलाई उपचार सरकारले निशुल्क उपलब्ध गराउने कुरा समेत उल्लेख छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्