भीरकोट-बिरुवा सडक ट्रयाक संचालनमा

असोज १८/ खबरकलम संवाददाता: भीरकोट नगरपालिका वडा नं १,२ र ३ हुँदै बिरुवा जोड्ने ग्रामीण सडक अन्न्तर्गत पर्ने जगतपुर ,बाहखोला ,केघा सडकखण्ड स्तरउन्नति योजना सम्पन्न भएर सवारीसाधन चल्न थालेका छन्। यसरी सडकमा सवारीसाधन गुड्न थालेपछि स्थानीयहरु लाभान्वित हुनुका साथै हर्षित भएका छन्।

संघीय सांसद श्री नारायण मरासिनीद्वारा सांसद विकास कोषमार्फत विनियोजित रु ५० लाख र अपूग रकम भीरकोट नगरपालिका समेतको सहयोगमा सडकखण्ड सम्पन्न भएको छ। उक्त सडकलाई अझै टिकाउ र मजबुत बनाउनका लागि भीरकोट नगरपालिका, बाहखोला आमा समुह र श्री प्रगतिशील युवा क्लबको सहयोगमा सडकमा गिट्टी बिच्छाउने काम पूर्ण रुपमा सम्पन्न भएको छ ।

अहिले स्थानीय युवा तथा समाजसेवी मिलेर नाला खन्ने, भल काट्ने कामहरु भैरहेको स्थानीय राजिव ठकुरीले जानकारी दिए। उक्त कार्यमा विदेशमा रहेका स्थानीयबाट समेत सहयोग भएको र उक्त आर्थिक सहयोग रकमले खाजा खर्च र सडकमा बत्ती जडान कार्य गरिने राजिव ठकुरीले बताएका छन्।

Share Post on Social media