पहिलो पाइला स्याङ्जाले गर्यो छायाँक्षेत्र मन्दिरमा सफाई

कार्तिक १/स्याङ्जा: पहिलो पाइला नेपाल स्याङ्जाले आज छायाँक्षेत्र मन्दिरमा सरसफाई गर्ने कार्यक्रम सम्पन्न गरेको छ।

पहिलो पाइला नेपाल स्याङ्जाका युवाहरुले कोरोना महामारीको बीच पनि जोखिम मोलेरै सामाजिक काममा आफ्नो अग्रसरतालाई निरन्तरता दिएका छन्। छायाँक्षेत्र मन्दिर परिसर, शिवको मूर्ति वरपरको क्षेत्र, विश्वकर्मा मन्दिर, छायाँक्षेत्र धाम प्रवेशद्वार लगायतका स्थानहरुमा सरसफाई गरी उनीहरुले स्वच्छ स्याङ्जा अभियानलाई बाँकी दिनमा पनि निरन्तर रुपमा अघि लैजाने प्रतिबद्धता व्यक्त गरे।

छायाँक्षेत्र धाम धार्मिक रुपले निकै महत्वपूर्ण मानिन्छ। पौराणिक कथामा व्याख्या गरिएअनुसार आफ्नो पति (शिव)लाई आफ्नै बाबु दक्षप्रजापतिले गरेको अपमान सहन नसकी अग्निकुण्डमा हाम फालेर प्राण त्याग गरेकी सतिदेवीलाई महादेवले बोकी पृथ्वी भ्रमण गरेका थिए। विभिन्न पीठमा शरीरका विभिन्न अंगहरु पतन भई झर्ने क्रममा छायाँक्षेत्रमा सतिदेवीको बाँकी सबै अंगहरु पतन भएको थियो। प्यासले छट्पटिएका महादेवले त्रिशुल प्रहार गरी पहराको पानी पिएको भन्ने विश्वास त्यहाँ रहिआएको छ। र, आजको दिनमा पनि उक्त पहरोबाट पानी रसाइरहेको छ।

छायाँक्षेत्र मन्दिरमा शिवरात्री, एकादशी लगायतका विशेष दिनमा श्रदालु भक्तजनको घुइँचो लाग्ने गर्दछ।

पहिलो पाइला नेपाल स्याङ्जाले यसअघि विभिन्न ठाउँमा गई शैक्षिक सामग्री वितरण अभियान, सरसफाई कार्यक्रम, फुड बैँक मार्फत राहत वितरण कार्यक्रम, मुख्य पर्यटकीय स्थल भालुपहाडमा झण्डा फेर्ने कार्य लगायतका विभिन्न सामाजिक उत्तरदायित्व सम्पन्न गरिसकेको छ।

Share Post on Social media