भीरकोटमा साहित्य सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

खबरकलम संवाददाता/माघ १५: भीरकोट नगरपालिकामा रहेका साहित्यप्रेमी विद्यार्थीलाई प्रशिक्षण दिने कार्यक्रम सम्पन्न भएको छ।

भीरकोट नगरपालिका वडा नं ५ बगरेबजार स्थित आमा समूहको भवनमा आज आयोजना गरिएको कार्यक्रममा साहित्य सम्बन्धी प्रशिक्षण गरिएको हो।

कोभिडका कारण जिल्ला प्रशासन कार्यालय स्याङ्जाको २५ जना भन्दा बढी भेला हुन नपाइने निर्देशन बमोजिम सीमित संख्यामा उपस्थित भएका साहित्यमा रुचि राख्ने विद्यार्थीलाई जीवन अर्यालले करिब २ घण्टा प्रशिक्षण दिएका थिए।

गीत, गजल, मुक्तक, कविता कसरी लेख्ने? र कलमको माध्यमबाट समाजमा कसरी सकरात्मक सन्देश दिने? भन्ने विषयमा आयोजना गरिएको उक्त कार्यक्रमले मुनाल गोदार संयोजक तथा माला थापा सहसंयोजक रहने गरी दश सदस्यीय भीरकोट साहित्य संजालको प्रारम्भिक कमिटी समेत गठन गरेको छ।

सागर थापाले संचालन गरेको उक्त कार्यक्रममा माला थापाले स्वागत मन्तव्य सहित कविता वाचन गरेकी थिइन् भने अन्य करिब १० जना विद्यार्थीले आफ्ना रचना वाचन गरेका थिए। उक्त संजालले कला, साहित्य र संगीतको जुनसुकै विधामा कलम चलाउन खोज्ने प्रतिभाको खोजी गर्दै साहित्यमा प्रेरित गर्ने लक्ष्य लिइएको संयोजक मुनाल गोदारले जानकारी दिएका छन्।

Share Post on Social media