विद्यार्थीसँग मिलन समीर कार्यक्रम सम्पन्न

असार २०/वालिङ: युवा कवि तथा सिर्जनशील साहित्यिक अभियन्ता मिलन समीरसँग केन्द्रित रहेर गरिएको ” सिर्जनशील संवाद ” को पहिलो शृङ्खला ” विद्यार्थीसङ्ग मिलन समीर ” कार्यक्रम सम्पन्न भएको छ । वालिङस्थित साइन भिलेज इन्टरनेशनल एकेडेमीमा शुक्रबार (असार २० गते) कार्यक्रम गरिएको हो ।

साइन भिलेज इन्टरनेशनल एकेडेमीले आयोजना गरेको ” सिर्जनशील संवाद ” को पहिलो शृङ्खला ” विद्यार्थीसङ्ग मिलन समीर ” कार्यक्रमको सहजीकरण कक्षा १० कि छात्रा सिमरन खड्काले गरेकी थिइन् ।


सिर्जनशील संवादको क्रममा पाठ्यपुस्तकदेखि बाहिरका पुस्तकको अध्ययनको महत्व, सिर्जनशील लेखन भनेको के हो ? सिर्जनशील लेखनको महत्त्व र अभ्यास, मिलन समीर नामको अन्तर्कथा, विद्यार्थी जीवनमा पाठ्यपुस्तकसङ्ग सम्बन्धित कविता, कथा, निबन्ध, संवाद र दैनिकी जस्ता विविध विधा लेखन- अभ्यासको माध्यमबाट हुने साहित्यको विकासदेखि लिएर साहित्यिक लेखनको सुधारसङ्गै निखारतासङ्ग सम्बन्धित रहेर सिर्जनशील संवाद गरिएको थियोे । विद्यालयका सहायक प्रधानाध्यापक गौरव सुवेदीले विद्यार्थीहरुलाई अग्रज पुस्ताको जीवन्त अनुभव र अनुभुतिसङ्ग साक्षात्कार गराएर जीवनप्रति सदैव सकारात्मक सोचको विकास गर्दै सिर्जनशील सिकाइलाई दीगो बनाउनका लागि हरेक महिनाको तेस्रो शुक्रबार नियमितरूपमा आयोजना गरिने योजनासहित ” सिर्जनशील संवाद ” शृङ्खलात्मक कार्यक्रमको शुरूवात गरिएको र आगामी दिनमा समाजका विविध क्षेत्रमा क्रियाशील उदाहरणीय अग्रज व्यक्तित्वहरुलाई विद्यालयमा निमन्त्रणा गरेर विद्यार्थीहरुको माझमा ” सिर्जनशील संवाद ” को शृङ्खलालाई अगाडि बढाइने जानकारी दिए । स्मरण रहोस्, यस्तो किसिमको ” सिर्जनशील संवाद ” कार्यक्रम स्याङ्जाको इतिहासमा पहिलोपटक आयोजना गरिएको हो ।

करादीखोला, स्याङ्जामा जन्मिएका मिलन समीर युवा पुस्ताका सशक्त कविको रूपमा स्थापित छन् । समीर स्याङ्जाको साहित्यिक जगतमा सिर्जनशील साहित्यिक अभियन्ताको रूपमा परिचित छन् । स्याङ्जाको व्यापारिक केन्द्रको रूपमा रहेको वालिङ बजार समीरकै विशेष अग्रसरतामा पछिल्लो समय साहित्यिक केन्द्रको रूपमा स्थापित हुँदै गएको साहित्यिक जानकारहरु बताउँछन् ।

उनका हालसम्म गाउँमा साइरन बजेपछि ( कविता सङ्ग्रह- २०६९ ), प्रिय दुश्मन ( शृङ्खला कविता- २०७९ ), मिलन समीर र मिलन समीरहरु ( शृङ्खला कविताहरु- २०८० ) र मिलनमन्त्र ( मायालु मुक्तकहरु- २०८० ) लगायतका पुस्तकहरु प्रकाशित भइसकेका छन् भने समीरसूत्र ( प्रेमिल गजलहरु ) प्रेसमा गएको छ । गल्याङ प्रज्ञा प्रतिष्ठानको संस्थापक सचिव, वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको संस्थापक संयोजक, नेपाली लेखक संघको केन्द्रीय सचिवको रूपमा नेपाली भाषा- साहित्यको स्तरोन्नतिको सन्दर्भमा विशेष क्रियाशील हुँदै आएका समीर स्थानीयदेखि लिएर राष्ट्रियस्तरका थुप्रै सम्मान / पुरस्कारद्वारा सम्मानित / पुरस्कृत भइसकेका छन् ।

Share Post on Social media