रास्वपाले स्याङ्जाका दुवै क्षेत्रमा चुनाव जित्यो, क्षेत्र नं २ बाट डुम्रे निर्वाचित
खबरकलम संवाददाता/वालिङ: स्याङ्जा निर्वाचन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झविलाल डुम्रे निर्वाचित भएका छन्। उनले नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका भागवत प्रकाश मल्ललाई पराजित गर्दै निर्वाचित भएका हुन्।
डुम्रेले २५ हजार ३५४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मल्लले २० हजार ८३० मत प्राप्त गरे।
नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका खिमबहादुर थापाले भने १४ हजार १०८ मत प्राप्त गरी तेस्रो स्थानमा रहे।
रास्वपाका डुम्रेले ४५२४ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत ऋषिराम पौडेलले जानकारी दिए।
यसैगरी यसअघि नै सार्वजनिक विवरण अनुसार स्याङ्जा जिल्लाको क्षेत्र नं १ बाट रास्वपाकै उम्मेदवार धनञ्जय रेग्मी भारी मतका साथ विजयी भैसकेका छन्। दुईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जा जिल्लामा रास्वपाले दुवै क्षेत्रमा चुनाव जितेर क्लिनस्विप गरेको छ।
