वेष्ट इन्डिजले दिएको लक्ष्य न्युजिल्यान्डले पूरा बल नखेल्दै भेट्टायो

मंसिर १३/खेलकुद: न्युजिल्यान्ड र वेष्ट इन्डिज बीचको पहिलो टी-२० क्रिकेटमा न्युजिल्यान्डले ५ विकेटको जीत हात पारेको छ।

वर्षाका कारण डिएल मेथडबाट १६ ओभर र १७६ रनको लक्ष्यमा छोट्याइएको टी–२० खेलमा घरेलु टिमले जित निकालेको हो।

अकल्यान्ड रंगशालामा शुक्रबार दिउँसो सम्पन्न खेलमा न्युजिल्यान्डले १५.२ ओभरमै लक्ष्य पूरा गर्यो। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले पूरा ओभर खेल्दै सात विकेटको क्षतिमा १८० रन बनाएको थियो। सुरुवात राम्रो गरेको वेष्ट इन्डिजले १ रनको लागि ५ विकेट गुमाएको थियो।

वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले ३४ रन बनाए भने कप्तान किरोन पोलार्डले सर्वाधिक ७५ रन जोडे। फबियन एलेनले ३० रन जोडेको खेलमा अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

बरु न्युजिल्यान्डका लकी फग्र्युसनले पाँच विकेट गिराए भने टिम साउथीले दुई विकेट लिए। जवाफी ब्याटिङमा आएको न्युजिल्यान्डका जेम्स निसमले ४८ रन बनाए भने डेवोन कन्भेले ४१ रनको योगदान दिए।

वेस्ट इन्डिजको ओसाने थोमसले दुई विकेट लिए भने एक विकेट लिनेमा शेल्डन कटरेल र किरोन पोलार्ड रहे। खेलमा लकी फग्र्युसन प्लेयर अफ दि म्याच घोषित भए।

दुई देशबीचको दोश्रो खेल आइतबार हुनेछ।

Share Post on Social media