भीरकोटमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु,गोपालमानले गरे उद्घाटन
पुष ९/खबरकलम संवाददाता:भीरकोट नगरपालिकाद्वारा आयोजना गरिएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ।
भीरकोटको बयरघारीस्थित खेलमैदानमा आजबाट सुरु भएको प्रतियोगिता चार दिनसम्म चल्ने छ। पुष ९ देखि १२ गतेसम्मका लागि आयोजना गरिएको प्रतियोगितामा भीरकोट नगरपालिकाभरका माध्यमिक विद्यालयका विद्यार्थीहरुको सहभागिता रहने छ।
प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री गोपालमान श्रेष्ठले खेलकुदले नै व्यक्तिको सर्वाङ्गीण विकास गर्ने भएकाले खेलमा सहभागी हुने विद्यार्थीलाई शुभकामना व्यक्त गरे। पूर्वमन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा सुरु भएको उक्त प्रतियोगितामा गण्डकी प्रदेशका पूर्वमन्त्री तथा सांसद् मेखलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, स्याङ्जा प्रहरी प्रमुख शालिकराम शर्मा लगायतका भीरकोट नगरपालिकाका जनप्रतिनिधि, शिक्षक, पत्रकार, स्थानीयहरुको उपस्थिति रहेको थियो।
उद्घाटन कार्यक्रमको सञ्चालन भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनालले गरेका थिए।
आज सञ्चालन भएको १५०० मिटर दौडको सुरुवात भाग्योदय माविका विद्यार्थीले बाजा बजाएर गरेका थिए। उद्घाटन कार्यक्रमको अवसरमा आयोजित मार्चपासमा भूपु सैनिक आवासीय मावि प्रथम, बालोदय आवासीय मावि द्वितीय तथा बुद्ध मेमोरियल आवासीय मावि तृतीय भएका थिए।
आफ्नो प्रतिक्रिया दिनुहोस्