स्याङ्जामा भलिबल प्रतियोगिता सम्पन्न,खेलेरै जीवन चलाउन सकिने अवस्था बनाउन पहल गर्ने घोषणा

पौष १८/स्याङ्जा: राज्यमा अचेल कोरोनाका कारण थिलो परेका खेलकुदका गतिविधिहरु विस्तारै संचालन हुन थालेका छन्।

एक समय खेल खेलेर के हुन्छ? भन्ने समाजले ऐले आफ्ना सन्तानलाई खेलकुदमा पनि सहभागी बनुन्, खेलेर उत्कृष्ट प्रदर्शन गरुन् भन्ने सोचको विकास गर्न थालेको छ। यस्तै सोचको विकास भएको देखियो हिजो भीरकोट नगरपालिका वडा नं ८ ढापुक फेदीमा पनि।

तमु ल्होसार पौष (१५) को पावन अवसरमा भ्याली युथ क्लबद्वारा आयोजना गरिएको अन्तर- गाउँ स्तरीय पुरूष भलिबल प्रतियोगिता पौष १७ गते सम्पन्न भयो। कुल ४२ वटा भलिबल टिम समावेश भएकोमा दुई टीम फाइनल पुगे। एकले जित्यो। अर्को उपविजेता बन्यो। तर, त्यहाँ खेलको छुट्टै माहोल बन्यो। सयौँ मानिसहरु खेल हेर्न दर्शक बनेर आए।

पौष ९ गते क्लबका अध्यक्ष चित्र बहादुर बिकको अध्यक्षतामा उद्घघाटन भएको प्रतियोगिता हिजो पौष १७ गते नेकपा भीरकोट सचिव तथा जिल्ला सचिवालय सदस्य विश्वनाथ अर्यालको प्रमुख आतिथ्यतामा समापन भएको हो।

नेकपा जिल्ला सचिवालय सल्लाहकार हर्क गुरुङ, राष्ट्रिय युवा संघका नगर संयोजक जुमाल अलि, मुस्लिम संगठन स्याङ्जाका संयोजक नुर उल हक, निर्माण व्यवसायी संघ वालिङका अध्यक्ष प्रकश अधिकारी, खबरकलम डटकमका सम्पादक जीवन अर्याल लगायतका अन्य व्यक्तिहरुको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि विश्वनाथ अर्यालले खेलाडीलाई खेलेरै जीवन चलाउन सक्ने बनाउन राज्यलाई खबरदारी गर्ने र आफूले सक्दो सहयोग प्रदान गर्न पछि नहट्ने बताएका थिए। उनकै पहलमा सरकारले भीरकोट नगरपालिकाभित्र दुई वटा खेलमैदान निर्माण गर्न बजेट समेत बिनियोजन गरिसकेको छ।

भ्याली युथ क्लबले आयोजना गरेको भलिबल प्रतियोगितामा बानेथोक देउराली (भीरकोट कालिका युवा क्लब) प्रथम भएको छ । दोस्रो स्थानमा आयोजक नै (भ्याली युथ क्लब सेट-१) रहँदै उपविजेता बन्यो। त्यसैगरी तेस्रो स्थान ताउ घडेरी ( तामु हे युवा क्लब)ले हात परेको छ। भने, चौथो फेदी सेट २ (भ्याली युथ क्लब)ले हात पारेको छ ।

भ्याली युथ क्लबका अध्यक्ष चित्र बहादुर बिकले खेल सभ्य र भव्य रूपमा सम्पन्न भएको र आउँदा दिनमा पनि खेलकुदका गतिविधि सञ्चालन गर्ने जानकारी खबरकलमलाई दिए।

उक्त प्रतियोगितामा वेष्ट प्लेयर: भ्याली युथ क्लव मिलन गुरुङ, वेष्ट स्पाइकर: भीरकोट कालिका युवा क्लबका बिबेक जंग अधिकारी, अनुशासित खेलाडी विवश थापा, वेष्ट लिफ्टर लिला सिंह घोषित भएको जानकारी खेल संयोजक टिका गुरुङले गराए।

उक्त समापन कार्यक्रममा पुरस्कार तथा मेडल र प्रमाणपत्र वितरणका अतिरिक्त सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो।

Share Post on Social media