नेकपा एमाले भीरकोटले मेयर समक्ष ध्यानाकर्षण पत्र बुझायो

असार ८/खबरकलम संवाददाता: नेपाल कम्युनिष्ट पार्टी एमाले भीरकोट कमिटीले भीरकोट नगरपालिका समक्ष आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आफूले पेश गरेका योजना कार्यान्वयन गर्न बजेटको माग गरेको छ।

आज एक ज्ञापनपत्र बुझाउँदै समग्र भीरकोट नगरपालिकाको आर्थिक, सामाजिक, सांस्कृतिक र भौतिक विकास गर्न नगरपालिकाको ध्यानाकर्षण गर्दै उसले बजेटको प्राथमिकतामा आफ्ना कार्यक्रम पनि पार्न अनुरोध गरेको हो।

भीरकोट नगरपालिका क्षेत्रभित्र रहेका विभिन्न सम्पदाहरुको संरक्षण तथा पुनर्निर्माण गर्न, आँधीखोला संरक्षण गर्न, खेलमैदान बनाएर खेलकुदको विकास गर्न, बालउद्यान तथा पार्क बनाउन, खानेपानी आयोजनाको निर्माण गर्न, ग्रामीण सडकको स्तरोन्नति गर्न लगायतका कार्यक्रम समेट्न अनुरोध गरिएको नेकपा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्यालले जानकारी दिए।

नेकपा एमाले भीरकोटका अध्यक्ष विश्वनाथ अर्याल, प्रदेश कमिटी सदस्य हर्क बहादुर गुरुङ, नेकपा एमाले भीरकोट सचिव गोकुल अधिकारी, राष्ट्रिय युवा संघ भीरकोट अध्यक्ष जुमाल अलि लगायतले नगरपालिका प्रमुख छायाराम खनाललाई ज्ञापन पत्र बुझाउँदै सके कार्यक्रम कार्यान्वयन गर्न बजेटको व्यवस्था गर्न र नसके कम्तीमा पनि केन्द्रीय तथा प्रदेश सरकारको बजेटबाट कार्यक्रम हुने गरी अनुमति दिन र स्वीकृत प्रदान गर्न अनुरोध गरिएको जनाएका छन्।

Share Post on Social media