शुभलक्ष्मी सहकारीको १४ औं वार्षिक साधारणसभा सम्पन्न

खबरकलम संवाददाता /भदौ २१: भीरकोट नगरपालिका वडा नं १ बयरघारीस्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ।

भीरकोटस्थित क्षेत्री समाजको बहुउद्देश्यीय भवनमा आफ्ना सयौं शेयर सदस्यहरुको उपस्थितिमा आज सहकारीले १४ औं साधारणसभा सम्पन्न गरेको हो।

उक्त साधारणसभाबाट सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, व्यवस्थापकको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदन परित गरिएको थियो भने सहकारीले नीति तथा कार्यक्रममा समावेश गरेको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम, नयाँ लेखापरीक्षक नियुक्ति, शेयर लाभांश वितरण तथा संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धी कार्ययोजना समेत पारित गरिएको थियो।

कुल १ करोड ९६ लाख ५८ हजार ५ सय शेयर पुँजी रहेको उक्त सहकारीले बचत संकलन रु २२ करोड १० लाख ७६ हजार ६ सय ९१ संकलन गरेको छ भने रु १६ करोड ४७ लाखभन्दा बढी रकम ऋण प्रवाह गरेको छ। हालसम्म सहकारी संस्थाले कुल रु ६५ लाख ८७ हजार ३३६ रुपैयाँ बचत मुनाफा गरेको छ। संस्थाको प्रतिवेदन अनुसार १२ करोड ७४ लाखभन्दा बढी बैंक तथा नगद मौज्दात रहेको छ भने तरलता प्रतिशत ५७.६६ रहेको छ।‌

विसं २०७० सालमा दर्ता भई विधिवत् रूपमा सञ्चालनमा आएको सहकारी संस्थाका हाल २१११ जना शेयर सदस्य रहेका छन् भने ८ जना कर्मचारीले सेवा प्रदान गरिरहेका छन्।

आज सम्पन्न भएको साधारणसभा कार्यक्रममा जिल्ला सहकारी संघ स्याङ्जाका अध्यक्ष लक्ष्मीपति पौडेल प्रमुख अतिथि, भीरकोट नगरपालिकाका निवर्तमान प्रमुख छायाँराम खनाल विशिष्ट अतिथि रहेका थिए भने अन्य समाजसेवी तथा विद्वत व्यक्तिहरुको समेत उक्त कार्यक्रममा उपस्थिति रहेको थियो। संस्थाका अध्यक्ष भक्तबहादुर केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सहकारी संस्थाका व्यवस्थापक लेखबहादुर केसी किरणले गरेका थिए।

Share Post on Social media