खोप कार्यक्रम भद्रगोल, ५-६ घण्टासम्म कुर्नेले पाएनन्, पहुँचवाला ५ मिनेटमा लगाएर हिँडे।
युवराज अर्याल/साउन २०: यतिबेला देशभर कोभीड-१९ कोरोना भाइरस बिरुद्व खोप अभियान सञ्चालन भईरहेको छ ।
सरकारले ज्येष्ठ नागरिक समूह, अग्रभागमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक लगायतका बिभिन्न पेसा व्यवसायीलाई प्राथमिकता राख्दै सबै नागरिकलाई खोप लगाउने बताएको छ । बिभिन्न ठाउँमा खोप कार्यक्रममा मनपरी भएका खबरहरु पनि आईरहेका छन् । यही साउन १९ गते मङ्गलबार भीरकोट नगरपालिका वडा नं १ स्थित भीरकोट नगर अस्पतालमा भएको खोप कार्यक्रम झन् सबैलाई अचम्म पार्ने खालको देखियो ।
“खोप प्राथमिकता मापदण्ड थिएन साथै अव्यवस्थित पनि”
खोप लगाउन यहाँ कुनै मापदण्ड थिएन, ६०-६५ वर्षका बृद्धहरू घण्टौंसम्म प्रतिक्षा गरिरहेका देखिन्थे भने २५ वर्षे युवाहरू ५/१० मिनेटमा लगाएर निस्केका देख्न सकिन्थ्यो। उनीहरु खोप अभियानमा उमेर, पेशा, रोजगार, शारीरिक दुर्वलता वा अन्य कुनै मापदण्डमा परेर होईन कि नगरपालिकाका कर्मचारी वा जनप्रतिनिधिसम्म पहुँच बनाएर हो, धेरै बृद्धहरुको गुनासो थियो ।
“नगरपालिका र अस्पतालका कर्मचारीका परिवार, आफन्त र आशेपाशेले तुरुन्तै लगाउन मिल्ने हामीले किन नमिल्ने?” स्थानीयको प्रश्न थियो ।
पङ्क्तिकार त्यही रहेको बेलामा भीरकोट ७ का ७७ वर्षीय बृद्ध शिव रेग्मी आउनुभो, अझैपनि पहिलो डोज लगाउनुभएको छैन? हजुरले त लाईनमा नबसी लगाउन पाउनुपर्ने भनेर सोध्दा “हो त नि लगाउने मेसो मिलेको थिएन, आजपनि अघिदेखि कुरिरहेको छु, अगाडी भीड पन्छाउन नसकेर पछाडी रहें” भन्नुभयो, त्यसपछि खोपकार्डमा बिवरण लेख्न बसेका कर्मचारीलाई अनुरोध गर्दा ए! लेट आउनु भो, भन्ने जवाफ आयो, पछी बुझ्दा त्यसपछी उहाँलाई परिचय खुल्ने कागजात ल्याउनु लगाउन मिल्छ भनिएछ उहाँ हतार हतार घर गएर नागरिकता लिएर आउनुभएछ, पसिनाले जिउ भिजेको देख्न सकिन्थ्यो, तर खोप सकियो भनेपछी निराश हुँदै फर्कनुभयो ।
तर, त्यसपछी पनि भित्र सेटिङ अनुसार खोप लगाइएको प्रत्यक्षदर्शी बताउँछन्, उहाँको बिवरण लेख्ने कर्मचारीप्रती गुनासो छ, “यदी खोप थिएन भने म बुढो मान्छेलाई किन दौडाएर दुःख दियौ ?”
स्वास्थ्य मापदण्ड बिनाको भद्रगोल खोप केन्द्र
खोप कार्यक्रममा अस्पतालका कर्मचारी, नगरपालीका तथा वार्डका कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको भएपनि उनीहरु खोप कार्यक्रम व्यवस्थित बनाउन भन्दा आफ्ना मान्छेलाई कसरी छिटो खोप लगाउने र पठाउने भन्ने ध्याउन्नमा लाग्नाले अस्पताल क्षेत्र नै कोरोना आउनुअगाडिको समयमा कुनै चाडपर्व वा जात्रा मनाईरहेको ठुलो मन्दिर जस्तो देखिन्थ्यो, जहाँ न कुनै न्युनतम स्वास्थ्य मापदण्ड वा भौतिक दुरी कायम गरिएको थियो न व्यवस्थित लाईन नै, यि सबै देख्दा कोरोना सम्बन्धि सामान्य सचेतना स्वास्थ्यकर्मीलाई नै नभएको जस्तो लाग्थ्यो ।
” अब सकियो भन्दै माथिल्लो तलामा लैजादैँ लगाईदिँदै”
अस्पतालको भुईँतलामा खोप लगाउने ठाउँ बनाईएको थियो, सँगैको चौतारी र अस्पताल परिसरमा खोपको प्रतिक्षा गरिरहेका नागरिकलाई नाम टिपाउन बसेका कर्मचारी र खोप लगाउने स्वास्थ्यकर्मीले अब खोप सकियो भनेर भन्ने तर आफ्ना मान्छेलाई २/३ वा ४/५ जनाको समुह बनाएर प्रतिक्षामा बसेकाको आँखा छल्दै माथिल्लो तलामा लगेर पटक पटक खोप लगाइएको पालो कुरेर बसेका एक व्यक्तिले बताए । झण्डै तीन-चार पटक त्यसरी सकियो भन्ने तर माथिको तलामा लगेर लगाउने गरिएको उनी बताउँछन् । “सोझो तरिकाबाट हामीजस्तो धैर्य गरेर ५ घण्टा बढी समय खोप कुर्नेहरुले लगाउन पाएनौं दिनभर त्यसै बसेर फर्कनुपर्यो।” स्थानीय व्यवसायी पार्वती थापाको गुनासो थियो ।
खोप कार्यक्रम किन यति अव्यवस्थित र भद्रगोल भएको?
भन्ने प्रश्नमा भीरकोट नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष शेषकान्त अर्याल भन्नुहुन्छ “खासगरी आज भीरकोट नगरपालीकाको १ र ७ नम्बर वडावासीलाई लगाउने भन्ने कार्यक्रम थियो साथै अन्य केही वार्डका छुटेका ज्येष्ठ नागरिकलाई पनि लगाउने कुरा थियो तर अन्यत्रबाट सबै आएर लगाउन खोज्दा यस्तो भयो, यि दुई वार्डका भन्दा अरूले बढी लगाए ।”
आफ्नो प्रतिक्रिया दिनुहोस्