भीरकोट साना किसानले वितरण गर्यो, अन्तिम लट कुखुराका चल्ला

भदौ १/स्याङ्जा: भीरकोट साना किसान सहकारी संस्था लिमिटेडले अन्तिम लटमा ७५०० भन्दा बढी लोकल कुखुराका चल्ला किसानलाई निःशुल्क वितरण गरेको छ।

भीरकोटका निम्न आयस्रोत भएका किसानलाई सहयोग स्वरुप निशुल्क लोकल कुखुराका चल्ला वितरण गर्ने कार्य सफलतापूर्वक सकिएको सहकारीका अध्यक्ष विश्वनाथ अर्यालले खबरकलमलाई जानकारी दिए।‌‌

पहिलो लटको वितरण कार्यक्रममै किसानहरुलो उल्लेख्य सहभागिता भएपछि दोश्रो, तेश्रो र चौथौ लटमा समेत कुखुराका चल्लाहरु वितरण गर्नुपरेको हो। बट्टाई, कालिज, टर्की, ब्रोइलर र लोकल प्रजातिका चल्ला वितरण गरेर किसानहरु आफैले चाडबाड तथा दशैंतिहारको समयमा उत्पादन गर्न मिल्ने र सोही समयमा खपत गराउन सकिने गरी सहकारीले चल्ला बाँडेको हो।

चाडबाडको समय यसैपनि खर्चिलो समय हो। दशैँतिहारको बेलामा अस्वभाविक रुपमा मासुको माग बढी हुन्छ। आफैले पालेका कुखुरा नै सो समयमा तयार हुने हुँदा तिनै कुखुरा मासुको रुपमा प्रयोग गर्न सकिने र मासुको लागि खर्च हुने पैसा समेत जोगाउन मिल्ने गरी यही समय पारेर बाँडिएको अर्यालको भनाई थियो।

सहकारीले नेपाल सरकारले प्रदान गर्ने अनुदानमा आधारित रहेर कृषि टनेल तथा विभिन्न प्रजातिका पंक्षीका चल्लाहरु वितरण गरिरहेको छ।

२०७५ सालमा स्थापना भएको भीरकोट साना किसान सहकारी संस्थामा हाल ६०० भन्दा बढी शेयर सदस्य पुगेका छन्।‌ निम्न आयस्रोत भएका किसानलाई उत्पादनमूलक क्षेत्रमा लगाउने उदेश्यले सहुलियत दरमा ऋण समेत उपलब्ध गराउँदै आएको सहकारीले जनाएको छ। सहकारीले मासिक तथा समूह बचत नामक कार्यक्रम ल्याई बचतमा समेत जोड दिएको छ भने निकट भविष्यमै पशुबीमा,बालीबीमा, उत्पादनमा‌ आधारित सहुलियत ऋण तथा अनुदान कार्यक्रम समेत संचालनमा ल्याइन लागिएको संस्थाका अध्यक्ष विश्वनाथ अर्यालले जनाएका छन्।‌‌

साना किसान सहकारी संस्था देशभर नै शाखा भएको राष्ट्रिय स्तरको सहकारी संस्था हो। यसमा सहभागी हुन चाहनेले आफ्नो क्षेत्रमा रहेको साना किसाम सहकारी संस्थामा गई रु १०००‌ मै शेयरधनी हुन सकिन्छ।

Share Post on Social media