स्याङ्जाका प्रहरी जवान “Police Of The Month” सम्मानद्वारा सम्मानित
राम बहादुर रोकाहा , स्याङ्जा: जिल्ला प्रहरी कार्यालय स्याङ्जामा कार्यरत नेपाल प्रहरीका जवान “उत्कृष्ट प्रहरी” सम्मानद्वारा सम्मानित भएका छन् ।
हरेक महिना जिल्ला प्रहरी कार्यालय स्याङ्जाले उत्कृष्ट प्रहरीलाई सम्मान गर्दै आएको छ ।
यसै क्रममा आफुलाई दिइएको जिम्मेवारी पुर्ण रुपमा पालना गरी आम नागरिक माझ प्रहरी संगठनको छवि उच्च गराउने काम गरेकोमा प्रहरी जवान फर्स बहादुर रास्कोटीलाई पौष महिनाको “Police of The Month” सम्मानद्वारा सम्मानित गरिएको हो ।
आफ्नो जिम्मेवारी अन्तर्गत गोप्य सूचनाका आधारमा गत पौष महिनामा स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका वडा नं.७ खिलुङ्गबाट लुकाईछिपाई राखेको १४ केजी अवैध लागू औषध(गाँजा) र १ थान भरुवा बन्दुक सहित डुल बहादुर रोकाहालाई पक्राउ गर्न अहम भुमिका निर्वाह गरेका थिए ।
त्यस्तै निज जवानले विभिन्न मितिमा फरार रहेका प्रतिवादीहरुलाई पक्राउ , अवैध घरेलु मदिरा नियन्त्रण , लागू औषध एवं अवैध हातहतियार(भरुवा बन्दुक) सहित मानिस पक्राउ गर्न अहम भुमिका निर्वाह गर्दै आम नागरिक सामु नेपाल प्रहरी संगठनको नाम उच्च गराएकोमा उनी सम्मानित भएका हुन् ।
विभागीय नीति निर्देशनलाई पुर्ण रुपमा पालना गर्दै लगनशील तथा कर्तव्यनिष्ट भई उच्च व्यवसायिक कार्य कुशलताका साथ उत्कृष्ट ढंगले जिम्मेवारी पूरा गरेकोमा निज प्रहरी जवान फर्स बहादुर रास्कोटीलाई २०७८ साल पौष महिनाको उत्कृष्ट प्रहरी “Police of The Month” घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले बताउनुभयो ।
निज उत्कृष्ट प्रहरी जवानलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतद्वारा कदर-पत्र प्रदान गर्दै आगामी व्यवसायिक सफलताको कामना एवं बधाई दिनुभएको हो । हरेक महिना कामको प्रगति अनुसार उत्कृष्ट प्रहरी सम्मान पदकबाट प्रहरी संगठन केन्द्रीय कार्यालयको नीति अनुसार प्रहरीहरु सम्मानीत गर्दै आएको डिएसपी अधिकारीले बताउनुभयो ।
आफ्नो प्रतिक्रिया दिनुहोस्