पदको हवाला दिँदै राष्ट्रिय परिचयपत्र बनाउने कर्मचारीमाथि जाइलागे मेयरका पिए
माघ १८/खबरकलम संवाददाता: भीरकोट नगरपालिका वडा नं ८ को वडा कार्यालयमा राष्ट्रिय परिचयपत्र बनाउने सिलसिलामा खटिएका कर्मचारीमाथि मेयरका पिए जाइलागेका छन्।
विवाह दर्ता कायम नहुँदासम्म या विवाह दर्ता नल्याउँदासम्म उक्त काम गर्न नसकिने राष्ट्रिय परिचयपत्र बनाउने सिलसिलामा खटिएका कर्मचारीले बताएपछि नेपाली कांग्रेसका नगरसचिव तथा भीरकोट नगरपालिकाका नगरप्रमुखका पिए नन्दलाल खनाल कर्मचारीमाथि नै जाइलागेका हुन्।
राष्ट्रिय परिचयपत्र बनाउनको लागि भरिने फर्म समेत च्यातेर म मेयरको पिए हुँ र मेरो उच्च राजनीतिक पहुँच छ भन्दै तथानाम अपशब्द प्रयोग गरेर कम्प्युटर समेत फोड्छु भन्दै खनाल आक्रमक रुपमा प्रस्तुत भएपछि केही बेरसम्म सेवाग्राहीहरुको काम समेत अवरुद्ध भएको थियो।
गैरकानुनी रुपले दबाव दिएको भन्दै परिचयपत्र बनाउने कर्मचारीले नन्दलाल खनालले माफी नमागेसम्म काम नगर्ने भन्दै केही बेर कामसमेत रोकेका थिए। उक्त घटनापश्चात भीरकोट नगरपालिकाका मेयर छायाराम खनाल, सम्बन्धित वडाका वडाध्यक्ष, प्रहरी चौकी भीरकोटका इन्चार्ज सहितको टोली वडा कार्यालयमै पुगेर सम्बन्धित व्यक्तिलाई माफी मगाउने सहमति गरे पश्चात कर्मचारीले काम पुनः सुचारु गरेका थिए।
नन्दलाल खनालले उक्त खेदजनक व्यवहार देखाएर त्यहाँबाट हिँडेको र आजसम्म पनि उनले आत्मालोचना गर्दै माफी माग्न नआएको र नमागेको कर्मचारीले जनाएका छन्। यद्यपि राष्ट्रिय परिचयपत्रसम्बन्धी डाटा लिने कार्य नरोकिएको जनाइएको छ। यसबारे खबरकलमले उनलाई सम्पर्क गरी बिबादबारे सोध्दा उनले परिचयपत्र बनाउने सिलसिलामा सामान्य बिबाद भएको तर, बाहिर आएजस्तो आफूले अपशब्द नबोलेको बताए।
नन्दलाल खनाल स्थानीय भाग्योदय माविका शिक्षक समेत रहेको र उनले दोहोरो लाभ समेत लिएको आरोप छ। यद्यपि उक्त आरोप पुष्टि भएको भने छैन। सरकारी कर्मचारी भएर सरकारी कर्मचारीमाथि नै अभद्र व्यवहार देखाउने उनी भर्खरै सम्पन्न भएको नेपाली कांग्रेसको भीरकोट नगरपालिकाको नगरअधिवेशनबाट निर्वाचित नगरसचिव समेत हुन्।
आफ्नो प्रतिक्रिया दिनुहोस्