स्थानीय निर्वाचन लक्षित निर्वाचन आचारसंहितासम्बन्धी अन्तरक्रिया कार्यक्रम भीरकोटमा सम्पन्न

वैशाख ९/स्याङ्जा: वैशाख ३० गते हुने भनिएको आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर भीरकोट नगरपालिकामा निर्वाचन आचारसंहितासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।‌‌

भीरकोट नगरपालिकामा सक्रिय राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, पत्रकार, प्रहरीसमेतको उपस्थितिमा निर्वाचन अवधिमा के गर्न हुने? के गर्न नहुने? भन्ने विषयमा आचारसंहितामा उल्लेख गरिएका बुँदाहरुमा सहजीकरण गरिएको थियो।

उक्त कार्यक्रममा भीरकोट नगरपालिकाको निम्ति निर्वाचन अधिकृत तोकिएका ऋषिराम आचार्यले सहजीकरण गरेका थिए। निर्वाचन अधिकृतकै अध्यक्षतामा गरिएको उक्त कार्यक्रममा प्रमुख अतिथिको भूमिका भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले निभाएका थिए भने संचालन भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले गरेका थिए।

कार्यक्रममा नेकपा एमालेका भीरकोट अध्यक्ष विश्वनाथ अर्याल, नेपाली कांग्रेसका भीरकोट नगरसभापति यामप्रसाद अधिकारी, नेकपा माओवादी केन्द्र भीरकोट अध्यक्ष मिनप्रसाद कोइराला, राप्रपा भीरकोट प्रतिनिधि, एमएनओ नेपालका प्रतिनिधि, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडा लगायतले आफ्नो धारणा राखेका थिए।

निर्वाचनलाई स्वतन्त्र, पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने निर्वाचन अधिकृतको धारणा थियो। निर्वाचन आचारसंहितासम्बन्धी थप जानकारी निर्वाचन आयोगको वेभसाइट या यो लिंक क्लिक गरी हेर्न सकिन्छ।‌ www.election.gov.np

Share Post on Social media