भीरकोट नगरपालिकाको शिक्षा शाखाले लिएको परीक्षामा त्रुटि नै त्रुटि

वैशाख १०/स्याङ्जा: भीरकोट नगरपालिकाको शिक्षा शाखाले लिएको आधारभूत तहको परीक्षा प्रश्नपत्रमा त्रुटि पाइएको छ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षासम्बन्धी अधिकार स्थानीय तहलाई प्रदान गरेको छ। संविधान प्रदत्त अधिकारको पूर्ण रुपमा पालना गर्न भने स्थानीय तह र यस अन्तर्गतका शिक्षा शाखा चुक्दै आएका छन्।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिकाले हिजोबाट सुरु गरेको आधारभूत तह (कक्षा ८) को अंग्रेजी विषयको प्रश्नपत्रमा त्रुटि भेटिएको छ। नगरपालिका स्तरको परीक्षा र प्रश्नपत्रमा यसरी त्रुटि भेटिनु स्थानीय तह र यसअन्तर्गतका शाखाहरु आफ्नो क्षेत्राधिकार भित्र साँच्चै जिम्मेवार छैनन् र उनीहरुले आफ्नो कर्तव्य सही तरिकाले निर्वाह गर्न सक्दैनन् भन्ने गतिलो उदाहरण हो।

अघिल्ला शैक्षिक सत्रमा पनि भीरकोट नगरपालिकाको शिक्षा शाखाले लिएको कक्षा ८ को नेपाली विषयका प्रश्नपत्र कक्षा ९ र १० मा आधारित पाठ्यक्रमबाट निकालिएपछि केही विद्यालयले बिरोध गर्दै परीक्षा नै बहिष्कार गरेका थिए। नगरपालिकाले माफी माग्दै गल्ती नदोहोरिने प्रतिबद्धता व्यक्त गरेपछि पुनः प्रश्नपत्र तयार गरी परीक्षा संचालन भएको थियो।

नगरपालिकाको शिक्षा शाखाबाट जारी गरिने आधारभूत तहको लब्धांकपत्रको कागज पनि गुणस्तरीय नभएको भनी पटकपटक गुनासो आईरहँदा पनि नगरपालिकाले उक्त कुरा समाधान गर्न सकेको छैन। शिक्षा शाखामा एक त सबल र सक्षम कर्मचारी छैनन्, भएका कर्मचारीले पनि राम्रोसँग काम नगरिदिँदा नगरपालिकाभरीका विद्यालयले सास्ती बेहोर्न परिरहेको छ।‌‌

उपसचिव शिक्षा शाखा प्रमुख भएको भीरकोट नगरपालिकामा शिक्षा अधिकृतसमेतको दरबन्दी भने रहेको छ। तर, उपसचिव र अधिकृतस्तरका कर्मचारीबाट हुने कार्यसम्पादन न्यायोचित भने छैन।

Share Post on Social media