रापाकोट कालिका मन्दिरमा धर्मशाला निर्माण कार्यको सुरुवात

वैशाख ११/स्याङ्जा:
दीपक सुनार,
स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल रापाकोट कालिका मन्दिरमा तीर्थयात्रीलाई मध्यनजर गर्दै धर्मशालाको निर्माण कार्य सुरु गरिएको छ।

धर्मशाला निर्माण अभियानका संयोजक तथा रापाकोट मिलिजुली तमु समाज पोखराका विशेष सल्लाहकार कर्ण गुरुङको प्रमुख आतिथ्यतामा धर्मशालाको शिलान्यास भएको हो। कार्यक्रममा बोल्दै अभियानका संयोजक कर्ण गुरुङले आफ्नो गाउँ-ठाउँमा रहेका धर्म संस्कृति र सम्पदाको संरक्षण र सम्बर्द्धनका लागि सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्न पनि अनुरोध गरेका छन्।

उक्त कार्यक्रममा जन्म घर रापाकोट भई हाल पोखरा बसोबास गर्नुहुने कर्ण बहादुर गुरुङ , ठाकुर प्रसाद गुरुङ, जग बहादुर गुरुङ, क्या.डम्बरबहादुर गुरुङ ,चन्द्र गुरुङ, नरेन्द्र गुरुङ, बिक्रम गुरुङले आफ्नो जन्म ठाउँको बिकासको लागि आफूहरुले जस्तोसुकै सहयोग गर्ने पनि बताएका थिए।रापाकोट जन्म घर भई हाल पोखरामा बसोबास गर्ने सम्पूर्ण रापाकोटबासीको करिब ६५ लाख आर्थिक सहयोगमा धर्मशाला सञ्चालन हुन लागिरहेको छ। धर्मशाला निर्माण अभियानले विगतका वर्षहरुमा टाढाबाट बास बस्ने गरी दर्शन गर्न आउने धर्मावलम्बीहरुलाई बास बस्ने ठाउँको दुख भएकोले धर्मशाला निर्माण गरी सहजता प्रदान गर्न प्रयास गरिएको गुरुङले बताएका छन्।

धर्मशाला निर्माण समितिका अध्यक्ष उम्बासिङ गुरुङ ज्युको अध्यक्षता तथा कालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भुवनसिंह गुरुङको विशेष पहलमा सम्पन्न कार्यक्रमको सञ्चालन एल.बि.गौतमले गर्नुभएको थियो ।

Share Post on Social media