निर्वाचनको सम्मुखमै भीरकोटमा झडप, आरोपित विरुद्ध सार्वजनिक मुद्धा दर्ता

वैशाख २५/स्याङ्जा: देशैभर स्थानीय तहको निर्वाचनले माहोल तातिरहेका बेला स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका भने झडपले तातेको छ।

स्याङ्जा जिल्लाको भीरकोट नगरपालिका -८ ढापुकमा काँग्रेसका वडा अध्यक्षका उम्मेदवार र कार्यकर्तालाई आइतबार दिउँसो कुटपिट र लछारपछार गरेका छ्न्। मत माग्दै हिँडेका काङ्ग्रेसका कार्यकर्तालाई अचानक एमालेका कार्यकर्ताले लुकेर बसी पछाडिबाट आक्रमण गरेको नेपाली काँग्रेसबाट भीरकोट ८ का लागि वडा अध्यक्ष पदका उम्मेदवार नन्दलाल खनालले बताउनुभयो। खनालका अनुसार काँग्रेस कार्यकर्ता घन बहादुर गुरुङ, वडा सदस्य हुमकला नेपाली र वडा अध्यक्षका उम्मेदवार स्वयं खनालमाथि एमाले कार्यकर्ताले एकैपटक साङ्घातिक आक्रमण गरेको बताउनुभयो।

घाइतेको अवस्था मध्यम रहेको र घाइतेहरू वालिङ स्थित गह्रौ प्राथमिक अस्पतालमा उपचार पश्चात् घर फर्किएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय वालिङका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार घन बहादुर गुरुङको टाउकोमा चोट लागेको छ। गुरुङको निधारमा पाँच ओटा टाँका लगाइएको तथा अन्य दुई जनाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ। वडा सदस्य हुमकला नेपालीको हात र खुट्टामा साधारण चोट लागेको छ, जानकारी अनुसार एमालेका कार्यकर्ता टीका गुरूङले एकैपटक पछाडिबाट ढुङ्गा प्रहार गरी घन बहादुर गुरूङलाई घाइते बनाएको तथा अन्यलाई लछारपछार गरेका थिए। घाइतेहरूले आरोपित टीका गुरुङ विरूद्ध वडा प्रहरी कार्यालय वालिङमा उजुरी दिनुभएको छ।

यता आरोपित पार्टीका एमालेका नेता सन्तोष के.सी. का अनुसार फेसबुकको स्टाटसलाई लिएर विवाद र भनाभन हुँदा टीका र दलबहादुर गुरूङले पछाडिबाट धकेल्दाखेरी लोटेर ढुङ्गामा ठोकिइ निधारमा चोट लागेको दाबी गर्नुभयो।

नेपाली काँगेस भीरकोटका सभापति यामप्रसाद अधिकारीले निर्वाचनको मुखैमा आएर यस्ता गतिविधि हुनु दु:खद र निन्दनीय भएको बताउनुभयो।शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्न र एक आपसमा नभिड्न अधिकारीको आग्रह छ। नेकपा एमालेका नगर कमिटी अध्यक्ष तथा नगर प्रमुखका उम्मेदवार विश्वनाथ अर्यालले घटना सुन्दा दु:ख लागेको बताउँदै निष्पक्ष छानविन गरी दोषी उपर कारबाही हुने पक्षमा आफू रहेको बताउनुभयो।

उक्त घटनाको निष्पक्ष छानबिनका लागि नेकपा एमालेले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ भने नेपाल तरुण दलले विज्ञप्ति निकालेर घटनाको निन्दा गरेको छ।

Share Post on Social media