निवर्तमान उपाध्यक्ष गुरुङको अध्यक्षमा उम्मेदवार किन?

वैशाख २६/स्याङ्जा: नेपालको संविधानले पनि महिला समानता र महिला हकका विषयमा विभिन्न आयामहरु समेटेर मौलिक हककै रुपमा महिलाको हक निर्धारण गरेको छ।‌

स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकामा नेकपा एमालेका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएकी चिनमाया गुरुङ एक निडर र सबल महिला मानिन्छिन्। आसन्न निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिन उनले वहालवाला उपाध्यक्ष पदबाट राजीनामा दिएकी हुन्।

मिति २०३४ साल भदौ ४ गते जन्मिएकी उनी १२ वर्षको उमेरदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रहँदै आएकी हुन्। २०४६ सालको पञ्चायत विरुद्धको पहिलो जनआन्दोलनमा समेत सहभागी भएकी गुरुङ साबिकको अर्जुनचौपारी गाविस हुँदा नेकपा एमाले पार्टीको गाविस उपाध्यक्ष समेत रहेकी थिइन्।

स्थानीय निर्वाचन २०७४ मा गाउँपालिका उपाध्यक्ष पदमा निर्वाचित भएकी उनले उपाध्यक्ष पदको पदीय जिम्मेवारीले भ्याएसम्म र आफ्नो क्षेत्राधिकार भित्र पर्ने हरेक कार्य आफूले न्यायिक ढङ्गबाट समाधान गरेको र गर्न पहल गरेको बताएकी छिन्।

गाउँपालिकाले तयार गरेको पालिका गौरवका आयोजनाहरु प्रशासकीय भवन निर्माण, औद्योगिक ग्रामको डिपिआर, ५२ वटा खानेपानी योजनाको डिपिआर, मुख्य १३ वटा सडकको डिपिआर निर्माण, व्यक्तिले भोगचलन गरेको सरकारी जग्गालाई पालिका मातहत ल्याउने, गाउँपालिकाको वृतचित्र निर्माण, गाउँपालिकाको प्रथम पञ्चवर्षीय योजना तयार गर्ने जस्ता महत्वपूर्ण योजनाको साक्षी र नेतृत्वकर्ता रहेकी उनले अध्यक्ष पदमा रहेर कार्यभार गर्न यी सबै अनुभव काम लाग्ने बताइन्।‌‌ तथापि गाउँपालिका उपाध्यक्षसहित सिंगो पालिकामा बहुमत पाएर पनि सोचेअनुरुप काम गर्न नसकेको आरोप उनीमाथि लागेको छ।

गाउँपालिकाले सञ्चालन गरेका अधुरा योजनाहरु सञ्चालन गर्ने, कृषिमा आधारित रहेर रोजगारी सृजना गर्ने, एकीकृत वस्ती निर्माण गराउने, बसाइसराई रोक्न पहल गर्ने, युवा रोजगारीका लागि पहल गर्ने, शुद्ध खानेपानी, सिँचाइ लगायतका योजनाहरु अघि बढाउने, एक शिक्षक एक ल्यापटप, स्थानीय पाठ्यक्रम निर्माण लगायतका उनका योजनाहरु छन्।

Share Post on Social media