आँधीखोलामा बन्यो स्याङ्जाकै अग्लो र लामो पुल, पर्यटकको आकर्षण

साउन १६/स्याङ्जा: स्याङ्जाको गल्याङ नगरपालिकास्थित चिउरीको भीरमा आँधीखोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ।

निर्माणको काम एसए शैलेन्द्र जेभीले २०७७ असारमा सुरु गरेको हो । पुल २०७८ वैशाखमा सक्नुपर्ने भए पनि कोरोनाका कारण समयावधि थप गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

पुल २०७९ साउन २० सम्ममा सक्नेगरी समयावधि थप गरिएकामा निर्धारित समय अगावै सम्पन्न भएको छ । ३६८ मिटर लामो पुल निर्माणका लागि एक करोड ८३ लाख रुपैँयामा ठेक्का सम्झौता भएको थियोे ।

पुल निर्माणसँगै विशेषगरी गल्याङ र पेलाकोटका नागरिकलाई छिटो आवत–जावत गर्न सहज हुनुका साथै सिद्धार्थ राजमार्गसँग प्रत्यक्ष सम्पर्क पनि जोडिएको छ। ग्रामीण क्षेत्रमा उत्पादन गरिएका कृषिजन्य उत्पादनहरुले गल्याङ तथा वालिङमा बजार पाउन थालेका छन्।

कृषि तथा ग्रामीण पर्यटन मात्र नभई युवायुवतीको पनि मुख्य गन्तव्य बनेको छ यो पुल। विशेषगरी पारिवारिक घुमघाम तथा टिकटक बनाउन पनि युवायुवतीको घुइँचो लाग्ने गरेको छ। यो पुलमा दिनहुँ कम्तीमा ५०० जनाले अवलोकन गर्ने गरेका छन्।

यातायातको असुविधा तथा प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको पेलाकोटमा रहेको केदारनाथ मन्दिरसम्म दर्शनार्थीलाई पुग्न पुलले सहयोग पुर्‍याएको स्थानीय बताउँछन्।

यो स्याङ्जा जिल्लाको भालुपहाड पश्चात सबैभन्दा बढी अवलोकन गर्न लागिएको झोलुङ्गे पुल बन्न थालेको छ। स्याङ्जा जिल्लाको पर्यटनलाई यसले थप प्रवर्द्धन गर्ने छ।

Share Post on Social media