श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयले गर्यो कार्यक्रम

भदौ ३/स्याङ्जा: श्रीकृष्ण जन्माष्टमीको अवसरमा ब्रम्हकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र भीरकोटले बयरघारीस्थित आफ्नै भवनमा आज श्रीकृष्ण जन्माष्टमी महोत्सव कार्यक्रम सम्पन्न गरेको छ।‌‌

उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका भीरकोट नगरपालिका वडा नं २ का वडाध्यक्ष श्यामकाजी अधिकारीले आफ्नो क्षेत्रमा यस्ता कार्यक्रम हुनु राम्रो कुरा भएको भन्दै श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गरेका थिए।

विशिष्ट अतिथिको रुपमा उपस्थित भीरकोट नगरपालिका प्रवक्ता तथा वडा नं १ का वडाध्यक्ष दीपेन्द्र केसीले यस्ता धार्मिक कार्यक्रमको सञ्चालनले मात्र समाजका धार्मिक चेतना र शान्ति फैकाउन सहयोग गर्ने भन्दै कार्यक्रम निरन्तरताको कामना गरेका थिए।‌‌

भगवान श्रीकृष्ण त्यागको प्रतिमूर्ति भन्दै विश्व हिन्दु महासंघ भीरकोटका अध्यक्ष एवम् भीरकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष नन्दलाल खनालले भगवान श्रीकृष्णलाई माया,प्रेम, सद्भाव र आदर्शको प्रतिबिम्ब रुपमा समाजले स्वीकार गरेको बताए। धर्मले सदाचार र समाजसेवामा जोड दिएको भन्दै भगवान श्रीकृष्णले देखाएको कर्म र दर्शनको बाटोमा लाग्न सबैलाई अनुरोध गरे।

मानव जीवन सफल बनाउनको लागि भगवान श्रीकृष्णले गरेको त्याग र बलिदान सम्झेर भगवान श्रीकृष्णको मार्गमा हिँड्न सके मानव जीवन सफल हुने भन्दै भीरकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष लक्ष्मण खत्रीले श्रीकृष्ण जन्माष्टमीको शुभकामना व्यक्त गरेका थिए।

ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय भीरकोटकी सञ्चालक श्री सुभास दिदीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा योग तथा ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय तथा राजयोग सेवासँग सरोकार राख्ने शिक्षक, पत्रकार, समाजसेवी, राजनीतिकर्मी लगायत ५० बढीको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा भगवान श्रीकृष्ण महिमा तथा भगवान श्रीकृष्णसँग सम्बन्धित चरित्रहरुको प्रदर्शन गरिएको तथा नाच समेत प्रस्तुत गरिएको थियो।

Share Post on Social media