वालिङका शिक्षकले राजनीति गरे कारवाही हुने,मेयरले लिने भए एक्सन

भदौ १५/वालिङ: स्याङ्जा जिल्लाको वालिङ नगरपालिकाभित्र अध्यापन गराउने शिक्षकले अब सक्रिय राजनीति गर्न नपाउने भएका छन्।

वालिङ नगरपालिकाको नगरप्रमुख पदमा कार्यभार सम्हालेसँगै आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले वालिङ नगरपालिकाको गरिमा कायम राख्दै सुशासन र विकासमा आफ्ना योजनासहित उनले यो खुलासा गरेका हुन्।

शिक्षकको काम र शिक्षण पेशाको धर्म नितान्त विद्यार्थीको उज्वल भविष्य सृजना गर्ने र शिक्षा मार्फत समुन्नत समाजको निर्माण गर्ने भएकाले कुनै पनि शिक्षकलाई सक्रिय राजनीतिमा लाग्न निषेध गर्न लागिएको मेयर खाँणको भनाइ छ।

विगतमा आफू पनि शिक्षक भएको र राजनीतिमा आउन आफूले शिक्षण पेशा नै परिवर्तन गरेको जानकारी दिँदै उनले वालिङ नगरपालिकाका सम्पूर्ण शिक्षकलाई शिक्षक जस्तो भएर काम गर्न र राजनीति नगर्न निर्देश गरे।

वालिङ नगरपालिकाको नगरक्षेत्रमा ढल व्यवस्थापन गर्ने, धुलोमैलो व्यवस्थापन गर्न फरक व्यवस्था गर्ने, आँधीखोलामा चेकड्याम बनाउने, गह्रौँसुर मन्दिरमा पर्यटन वृद्धि गर्ने गरी गुरुयोजना तयार गर्ने, पर्यटकीय स्थल बाहुनथानलाई थप आकर्षक बनाउने, वालिङ – चापाकोटसम्म सुरुङमार्गको अध्ययन गर्ने लगायतका योजना प्रस्तुत गरेका थिए।

Share Post on Social media