सिद्धार्थ राजमार्गको लाइफलाइन राम्दी पुलको ठेक्का लाग्यो

भदौ २४:

कालीगण्डकी नदीमाथी पक्की पुल निर्माण गर्न प्रक्रिया सुरु गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशको सङ्गमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बनाउने प्रक्रिया सुरु गरिएको हो।

सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बनाइने भएको हो।

विसं २०२८ मा भारतले निर्माण गरिदिएको ‘स्टिल ट्रस’ पुल जीर्ण हुँदै जाँदा ठूला भारवहन क्षमताका सवारीसाधन आवतजावतमा रोक लगाई नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको हो। हाल सञ्चालनमा रहेको ९३ मिटर लामो पुलभन्दा पाँच–सात मिटर तल अर्को पुल बनाउने गरी सडक विभाग पुल महाशाखाले सर्भे सम्पन्न गरिसकेको छ।

ठेक्का प्रक्रिया अगाडि बढिसकेको पुल विभागले जनाएको छ। बोलपत्र आह्वान गरी २०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो।

सम्झौता भएको मितिले तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने छ। कुल २७ करोड ७१ लाखको लागतमा निर्माण सक्ने गरी सम्झौता भएको छ। पुल एक सय आठ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुने बताइएको छ।

सम्झौता भएको मितिले नौ महिनाभित्र अर्थात् आगामी चैत्र मसान्तसम्म डिजाइन स्वीकृत गरिसक्नुपर्ने छ। 

स्रोत: निर्माणपाटी डटकम

Share Post on Social media