विरुवा गाउँपालिकाले सार्वजनिक गर्यो जनप्रतिनिधिको१०० दिने उपलब्धि

असोज ४/स्याङ्जा: स्याङ्जा जिल्लाको विरुवा गाउँपालिकाले जनप्रतिनिधिहरुको १०० दिने उपलब्धि सार्वजनिक कार्यक्रम सम्पन्न गरेको छ।‌

विरुवा गाउँपालिकाको सभाहलमा आज स्थानीय तह निर्वाचन २०७९ मार्फत निर्वाचित जनप्रतिनिधिहरुको प्रगति विवरण तथा कार्यसम्पादन र प्राप्तिको सार्वजनिक कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त कार्यक्रममा पूर्व जनप्रतिनिधिहरु, वर्तमान जनप्रतिनिधिहरु, कार्यपालिका सदस्यहरु, शिक्षक, कर्मचारी, पत्रकार, विरुवा गाउँपालिकाभित्रका विभिन्न पालिका स्तरीय कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागी भई आफ्ना धारणा राखेका थिए।

विरुवा गाउँपालिकामा सक्रिय राजनैतिक दलविशेषका प्रतिनिधिले समेत विरुवा गाउँपालिकाको नीति तथा कार्यक्रम र प्रगति विवरणको खुलेरसम्मान गरेका थिए।

गाउँपालिकाले विभिन्न क्षेत्र छुट्याएर रणनीतिक योजना, दीर्घकालीन योजना, वहुवर्षे तथा अल्पकालीन योजना मार्फत “संवृद्ध विरुवा सुखी विरुवाबासी” नारा सहित अघि बढ्न लागेको पालिका अध्यक्ष सूर्यबहादुर कुँवरले जानकारी दिए।‌‌

पालिका स्तरमै स्वास्थ्य प्रयोगशालाको शुभारम्भ गर्दै गाउँपालिकाले हालै मात्र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ। विरुवा गाउँपालिकालाई सुशासन, आर्थिक पारदर्शिता र अनुशासनको नमुना पालिका बनाउने अठोटका साथ कार्यसम्पादन गर्न सुरु गरिएको अध्यक्ष कुँवरले जानकारी दिए।

उनले “स्थानीय तह सदस्य निर्वाचन २०७९ बाट निर्वाचित पदाधिकारीहरुका १०० दिनमा सम्पादित क्रियाकलाप तथा प्राप्त उपलब्धि” नामक पुस्तकको समेत सार्वजनिक गरेका थिए।

आउँदा दिनमा पनि सबैको साथ सहयोग र सहकार्य मार्फत अघि बढ्ने उनको प्रतिबद्धता थियो। आजको कार्यक्रममा विरुवा गाउँपालिकाका आठ वटै वडाका वडाध्यक्षहरुलाई प्रगति विवरण प्रस्तुत गर्न समय प्रदान गरिएको थियो। उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा पालिका अध्यक्ष सूर्यबहादुर कुँवर, विशिष्ट अतिथि गाउँपालिका निर्वाचन अध्यक्ष चुनप्रसाद शर्मा तथा उपाध्यक्ष देवीकुमारी थापा लगायतका थिए। योजना अधिकृत दीपक ढुङ्गानाले सञ्चालन गरेको उक्त कार्यक्रममा अध्यक्षता पालिका उपाध्यक्ष भगवती शर्माले गरेकी थिइन्।

विरुवा गाउँपालिकाले यही असोज १४ गते विजयादशमी तथा दीपावलीको शुभकामना आदानप्रदान गर्ने कार्यक्रम समेत तय गरेको जानकारी दिएको छ।

Share Post on Social media