भीरकोट नगरपालिकाले पालिकाभरका शिक्षकलाई दियो आईसिटी तालिम

असार १०/कलम संवाददाता: भीरकोट नगरपालिकाले पालिकाभरका विद्यालयमा कार्यरत शिक्षकलाई दुई दिने आईसिटी तालिम प्रदान गरेको छ।

भीरकोट नगरपालिका शिक्षा शाखाले आफू मातहतका विद्यालयमा कार्यरत कम्प्युटर तथा प्राविधिक शिक्षकलाई क्षमता विकास र आईसिटी तालिम प्रदान गर्दै शिक्षकलाई प्रविधिसँग जोडिएर प्रविधिमैत्री शिक्षण गर्न अनुरोध गरेको हो।

नगरपालिकाभित्रका करिब ४५ वटा विद्यालयमा कार्यरत शिक्षकहरुले असार ९ गते र १० गरी दुईदिनसम्म चलेको आईसिटी तालिमबाट आफूहरु निकै लाभान्वित भएको बताएका छन्। लामो समयसम्म शिक्षण गर्नुपर्ने दायित्व बोकेका शिक्षकले प्रविधिमैत्री तालिम पाउँदा शिक्षणमा सहज हुने र विद्यार्थीले समेत पढाईमा मन लगाउने उनीहरुको आशय थियो।

भीरकोट नगरपालिकाका सूचना प्रविधि अधिकृत कमल रेग्मी, रोजगार संयोजक वसन्त बस्नेत, शिक्षा शाखाका नासु विष्णु भट्टराई प्रशिक्षक रहेको उक्त तालिममा दुईदिनसम्म शिक्षकलाई माइक्रोसफ्ट वर्ड, एक्सल, पावरपोइन्ट, इमेल इन्टरनेट, शैक्षिक सफ्टवेयर आईईएमआईस व्यवस्थापन तथा अनलाइन कक्षा व्यवस्थापनसम्बन्धी तालिम प्रदान गरिएको थियो।

दुई दिनसम्म चलेको उक्त तालिमको समापन भीरकोट नगरपालिका शिक्षा शाखाका प्रमुख तथा उपसचिव विष्णुप्रसाद कोइरालाले गरेका थिए। तालिममा सार्वजनिक तथा संस्थागत गरी ४५ जना शिक्षकको सहभागिता थियो।

Share Post on Social media