कालिका मावि विव्यस अध्यक्ष कोइरालाले विद्यार्थी र शिक्षकलाई बाँडे निशुल्क कागतीका विरुवा

असार ११/कलम संवाददाता: स्याङ्जा जिल्लाको प्रतिष्ठित सामुदायिक विद्यालय कालिका मावि झापाकोटका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिनप्रसाद कोइरालाले विद्यार्थी र शिक्षकलाई निशुल्क सुनकागतीका विरुवा वितरण गरेका छन्।

विद्यार्थी र शिक्षकलाई कृषिप्रति आकर्षण गर्न १००० वटा सुनकागतीका विरुवा निशुल्क वितरण गरिएको विव्यस अध्यक्ष मिनप्रसाद कोइरालाले जनाएका छन्। कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी र सम्पूर्ण शिक्षकलाई कागतीको विरुवा वितरण गरिएको हो।

कालिका माविलाई सम्पूर्ण रुपले सुधार्न र जिल्लाकै अग्रणी स्थानको विद्यालयलाई पुनः सोही स्थानमा पुर्याउन आफू डटेर लाग्ने अध्यक्ष कोइरालाको भनाइ छ।

उनले एक कार्यकाल यसअघि नै अध्यक्षको भूमिकामा उक्त विद्यालयमा बिताइसकेका छन् भने कृषि तथा सहकारी अभियानमा समेत सक्रिय उनी नेपाल कृषि उद्यमका सञ्चालक तथा जिल्ला सहकारी संघ स्याङ्जा सचिव समेत हुन्।

Share Post on Social media