चापाकोट नगरपालिकाले खरिद गर्यो एम्बुलेन्स, गर्भवती तथा सुत्केरीलाइ नि:शुल्क सेवा
असार २०/सुनिल न्यौपाने,स्याङ्जा – स्याङ्जाको चापाकोट नगरपालिकाले एम्बुलेन्स खरिद गरेको छ ।
नगरवासीको स्वास्थ्य उपचार सेवालाई थप प्रभावकारी बनाउन नगरपालिकाले एम्बुलेन्स खरिद गरेको हो। चापाकोट नगरपालिकाद्वारा बिरामी जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा सुत्केरी महिलाहरुको उपाचार सेवा प्रवाहलाई सहज बनाउनको लागि नयाँ एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ।
विशेषगरी नगरपालिका भित्रका गर्भवती तथा सुत्केरीहरुका लागि चापाकोट अस्पतालसम्म लैजान र अस्पतालबाट रिफर गरिएको खण्डमा सम्बन्धित अस्पतालसम्म लैजानको लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको चापाकोट नगर प्रमुख देब बहादुर खाँण (ईश्वर)ले जानकारी दिनुभयो। साथै, यसबाट पालिकाभित्रका आम नागरिकमा सहजरुपमा सेवा प्रवाह हुने कुरामा विश्वस्त रहेको समेत बताउनुभयो ।
एम्बुलेन्स सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माण गरेर एम्बुलेन्स संचालन गरिने नगरपालिकाले जनाएको छ।
केही दिनअघि मात्रै चापाकोट नगरपालिकाले कृषकहरुको प्रबर्द्धन गर्न २६००० वटा लिची र आँपका विरुवा वितरण गरेको थियो।
आफ्नो प्रतिक्रिया दिनुहोस्