हेलु लामाचौर युवा क्लबले फेरी जित्यो उपाधि, अशोक बने प्लेयर अफ दि टुर्नामेन्ट

केके संवाददाता/ स्याङ्जा: स्याङ्जा जिल्ला वालिङ नगरपालिका १३ बायाँटारीमा रक इलाभेन क्रिकेट क्लबद्वारा आयोजित “प्रथम ईश्वर गुरुङ स्मृति क्रिकेट प्रतियोगिता”को उपाधि भीरकोटको हेलु लामाचौर युवा क्लबले जितेको छ। फाइनल खेलमा आयोजक रक इलाभेन क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै भीरकोट नगरपालिकाको हेलु लामाचौर युवा क्लबले उपाधि जित्न सफल भएको हो। जितसँगै क्लबले ३० हजार नगद ,शिल्ड , मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने द्वितीय भएको आयोजक रक इलाभेन क्रिकेट क्लबले नगद रु २०,०००, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

आज भएको फाइनलमा टस जितेर ब्याटिङ रोजेको रक इलाभेन क्रिकेट क्लबले मात्र ७.४ ओभर खेल्दै सबै विकेटको क्षतिमा मात्र ४५ रनको झिनो लक्ष्य दिएको थियो। रक इलाभेन क्रिकेट क्लबलाई सस्तैमा समेट्न “म्यान अफ दि फाइनल” समेत भएका अनुप श्रेष्ठले २ ओभरमा जम्मा १० रन खर्चेदै ४ विकेट लिन सफल भएका थिए।

जवाफी ब्याटिङमा उत्रेको हेलु लामाचौर युवा क्लबले उक्त ४५ रनको लक्ष्य मात्र ४.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो। उक्त लक्ष्य पूरा गर्ने क्रममा हेलु लामाचौर युवा क्लबका ओपनिङ ब्याट्सम्यान अशोक श्रेष्ठले मात्र ११ बलको सामना गर्दै ५ छक्काको मद्दतले आक्रमक ३४ रन जोडेका थिए।

प्रतियोगितामा रक इलाभेन क्रिकेट क्लवका अपार गैह्रे वेस्ट ब्याट्सम्यान, हेलु लामाचौर युवा क्लबका ईश्वर खाँण वेस्ट बलर र हेलु लामाचौर युवा क्लबका अशोक श्रेष्ठ प्लेयर अफ द टुर्नामन्ट घोषित भएका थिए।

प्रतियोगितामा स्याङ्जा, पाल्पा र कास्कीको गरी ३२ टीमको सहभागिता रहेको थियो।

Share Post on Social media