हरित चापाकोट अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम तिव्र बनाइँदै

साउन ६/केके संवाददाता:चापाकोट नगरपालिकाको आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रममा हरियाली चापाकोट बनाउने योजना अनुसार सडक छेउछाउमा बिरुवा रोप्ने कार्य धमाधम भइरहेको छ।

चापाकोट नगरपालिकाले आजपनि छितेखोलादेखि सुन्तलीटार बजारको विपी चोकसम्म सव डिभिजन वन कार्यालय दामाचाैरबाट ल्याइएका करिब एक हजार अमला, कलकी, गुल्मेर र पारिजातको विरुवा रोप्ने काम सम्पन्न गरेको छ।

भाेलि विहान ७ बजे देखि पुनः बिरुवा रोप्ने कार्य रहेकाे जानकारी गराउँदै नगरपालिकाले पायक पर्ने स्थानमा सहभागी भई वृक्षारोपण अभियानमा सरिक हुन सबै नगरबासीलाई अनुरोध गरेको छ।

तीनदिन भित्र ४००० बिरुवा रोप्ने र सो पश्चात उक्त बिरुवाहरुको उचित संरक्षण समेत गरिने चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँणले जनाएका छन्।

नगरपालिकाले हालैमात्र नगरपालिकाभित्र आधारभूत स्वास्थ्य सेवामा सहयोग पुर्याउने उद्देश्यले सम्पूर्ण वडाहरुमा आपतकालीन प्रयोगका निम्ति स्टेचरहरु वितरण गरेको छ।

Share Post on Social media