४० रोपनी जग्गा लिजमा लिएर तरकारी खेती गर्दै अर्जुनचौपारी, १३ जनाले प्रत्यक्ष पाए रोजगारी
खबरकलम संवाददाता/माघ १२: अर्जुनचौपारी गाउँपालिकाले यस वर्षदेखि आफ्नै सक्रियतामा कृषि कार्यमा पालिकाकै सहभागिता हुने गरी काम थालेको छ।
अर्जुनचौपारी गाउँपालिका वडा नं १ सिस्नेस्थित ४० रोपनी क्षेत्रफलमा फैलिएको जग्गालाई तत्कालका लागि ५ वर्षे सम्झौता गरेर लिजमा लिई तरकारी खेती सुरु गरिएको हो। अर्जुनचौपारी गाउँपालिकाले ४० रोपनी क्षेत्रफलमा फैलिएको जग्गालाई व्यवस्थापन गर्दै आलु खेती, लसुन तथा प्याज खेती, काउली, मुला, बन्दा लगायतका तरकारीहरु लगाएर कृषि मार्फत अर्जुनचौपारी गाउँपालिका स्थानीयहरुसँग सँगसँगै अघि बढिरहेको महसुस दिएको छ।
लिजमा लिइएको जग्गालाई व्यवस्थापन गर्न बिजुलीबत्ती जडान, २४ सै घण्टा सिसीटिभीबाट खेतको मोनिटरिङ गर्ने व्यवस्था समेत मिलाइएको अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले जानकारी दिए। उनका अनुसार पालिकाले कृषि कार्य गर्नैका निमित्त ३ जनालाई पूर्णकालीन र १० जनालाई अल्पकालीन गरी १३ जनालाई रोजगारी समेत दिएको छ।
यस वर्षमात्र ४,००० किलो जनकदेव र कार्डिनल प्रजातिको आलु लगाउने काम गरिएको, २४,००० किलो आलुको बिउ आमासमूह मार्फत गाउँपालिकाभर ५० प्रतिशत अनुदानमा वितरण गरिएको पाण्डेले जानकारी दिए।
प्रतिरोपनी रु १० हजारका दरले लिजमा लिइएको उक्त जग्गामा खेतीको सम्भावना तथा माटोको उर्वराशक्ति परीक्षण समेत गरिएको पालिका अध्यक्ष प्रकाश तिवारीले बताए। आलु उत्पादनमा पालिकालाई आत्मनिर्भर बनाउने उदेश्यका साथ यस वर्ष आलु उत्पादनमा जोड दिइएपनि आउँदा वर्षहरुदेखि हरेक प्रकारका तरकारी उत्पादन गरिने उनको भनाइ थियो।
अर्जुनचौपारी गाउँपालिकाले यस वर्ष पालिकाभरी ३ लाख केजी आलु उत्पादन गर्ने लक्ष्य राखेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस्