सयपत्री फूल खेती गरी पढ्दै कमाउँदै मिर्मीका विद्यार्थीहरु

कार्तिक २६/स्याङ्जा: स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिका स्थित मिर्मी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीले आफ्नो पढाईका अतिरिक्त सयपत्री फूल खेती गरेर वर्षेनी पढाई खर्च पुर्याउँदै आएका छन्। 

२ वर्षदेखि मिर्मी बहुमुखी क्याम्पसको परिसरमै सयपत्री फूल खेती गरेर अतिरिक्त आम्दानी गर्दै आएको मिर्मी बहुमुखी क्याम्पस स्ववियु सभापति समेत रहेकी स्नातक तेश्रो वर्षमा अध्ययनरत विद्यार्थी मुना न्यौपानेले बताइन्। 

गत साल पनि फूल खेतीबाट १५-२०,००० रुपैयाँ आम्दानी गरेकी उनले यो पटक अझै धेरै सयपत्री फूल खेती गरिएको बताइन्। सयपत्री फूल खेती कार्यमा क्याम्पस प्रशासन समेतले सहयोग गरिरहेको विद्यार्थी न्यौपानेको भनाइ छ। 

नियमित खर्च व्यवस्थापनमा मात्र नभई अतिरिक्त खर्चमा समेत यो सयपत्री फूलको आम्दानीले सहयोग गरिरहेको, विद्यार्थी पढ्दै गरेको अवस्थामै आर्थिक पाटोसँग जोडिएको र पढ्दै कमाउँदै सिद्धान्तमा जोडिएकाले परिवारमा समेत आर्थिक बोझ नपर्ने मुना न्यौपानेले बताइन्। 

स्मरणीय कुरा त के छ भने, कालीगण्डकी गाउँपालिका आफैले पालिकाका विभिन्न स्थानमा गरी करिब ७० रोपनी जग्गामा सयपत्री फूलको खेती गर्दै आएको छ। कालीगण्डकी गाउँपालिकाले फूल खेतीमा समेत अनुदान दिएर किसानलाई फूलखेतीमा आकर्षित तथा आत्मनिर्भर बनाउने कुरामा अग्रसर रहेको जानकारी कालीगण्डकी गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले जानकारी दिए।

Share Post on Social media