थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडको १४ औं साधारणसभा सम्पन्न

गीता अधिकारी/ खबरकलम: थापाथोक कफी उत्पादक सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं साधारणसभा सम्पन्न गरेको छ।

अर्जुनचौपारी गाउँपालिका वडा नं १ थापाथोक स्थित त्रिपुत्र वागवानी फार्ममा आज उक्त कार्यक्रम सम्पन्न भएको हो। स्थापना कालमा फलफुल तथा सुन्तला उत्पादक समूहबाट सुरु गरिएको उक्त संस्था हाल कफी उत्पादक सहकारी संस्थाको रुपमा रुपान्तरण भई सेवा प्रवाह गर्दै आएको छ।

अन्य सहकारीभन्दा फरक उदेश्यले स्थापना भई सञ्चालनमा आएको उक्त सहकारीमा हाल २६७ जना शेयर सदस्यहरु रहेका छन्। जसमा १२५ जना पुरुष र १४२ जना महिला शेयर सदस्यहरु छन्। कुल २५ लाख १४ हजार शेयर पुँजी रहेको यस संस्थाले वार्षिक एक करोडभन्दा बढीको कारोबार गर्दै आएको छ।

संस्थाका उपाध्यक्ष केशवप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा अध्यक्ष पिताम्बर अर्यालको संयोजकत्वमा आयोजित उक्त सभामा जिल्लाकै अग्रणी किसान तथा संस्थापक अध्यक्ष फणिनारायण अर्याल, जिल्ला कफी व्यवसायी संघकी प्रबन्धक माया तिवारी लगायतका व्यक्तिहरुको उपस्थितिमा सम्पन्न उक्त साधारणसभाले आज उत्कृष्ट बचतकर्ता, ऋणी र कृषकलाई सम्मान समेत गरेको छ।

सर्वोत्कृष्ट बचतकर्ताको रुपमा ज्येष्ठ नागरिक यवलाल अर्याल, उत्कृष्ट नियमित बचतकर्ताको रुपमा शालिकराम पौडेल, उत्कृष्ट नियमित कर्जा भुक्तानीकर्ताको रुपमा अप्सरा अर्याल, उत्कृष्ट वचत समूहको पीपलडाँडा वचत समूह, उत्कृष्ट बालवचतकर्ताको रुपमा लेखनाथ अर्याललाई सम्मानित गरिएको थियो।

लेखा समितिका संयोजक पुण्यप्रसाद रिजालले लेखापरीक्षण प्रतिवेदन, अध्यक्ष पिताम्बर अर्यालले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन संस्थाका सचिव ओमबहादुर जिटीले गरेका थिए भने स्वागत संचालक समिति सदस्य दुर्गा अर्यालले गरेकी थिइन्।

खुला सत्रको समाप्तिपछि बन्द सत्रमा शेयरधनीले आफ्ना गुनासा तथा समस्या राखेका थिए भने अध्यक्ष पिताम्बर अर्यालले सहजीकरण गर्दै गुनासाहरुको सम्बोधन गरेका थिए।

उक्त संस्थाले कृषि उपकरणहरु, बीउ विजन, कफी संकलन तथा बिक्रीमा किसानलाई ५० प्रतिशतसम्म अनुदान दिएर सेवा प्रदान गरिरहेको छ।

Share Post on Social media